विराटनगरः कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३\८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

आज बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङ्थेपले आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण प्रस्तुत गर्नुभएको हो ।

सो बजेटमध्ये चालुतर्फ १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ र पूँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

वित्तीय व्यवस्थापन शीर्षकमा १५ करोड रुपैयाँ छुट्याइएको छ । चालुतर्फ कुल बजेटको ३४.५५ प्रतिशत र पूँजीगततर्फ ५१.३२ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ०.३७ प्रतिशत हुन आउँछ ।

बजेट चालु आर्थिक वर्षको तुलनामा १२.७४ प्रतिशतले बढी छ ।

सरकारले बजेटको स्रोतमा आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, संघीय सरकारबाट प्राप्त हुने राजस्व बाँडफाडबाट १२ अर्ब ८७ करोड, वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब १२ करोड, सशर्त अनुदानबाट ५ अर्ब ९५ करोड र समपुरक अनुदानबाट ६४ करोड प्राप्त हुने अनुमान गरेको छ ।

चालु आर्थिक वर्षमा कोशी सरकारले ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो ।

स्रोत व्यवस्थापन र खर्चको अवस्थालाई हेर्दै मध्यावधि समीक्षा बजेटलाई घटाएर ३२ अर्ब ४५ करोड ६४ लाख रुपैयाँमा झारिएको थियो ।