विराटचोकः सुन्दरहरैँचा नगरपालिकाको १८ औँ नगरसभामा आर्थिक वर्ष २०८३\०८४ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ ।

नगरप्रमुख केदारप्रसाद गुरागाईंले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्नुभएको थियो भने उपप्रमुख अकली चौधरीले बजेट प्रस्तुत गर्नुभएको थियो ।

जसअनुसार चालुतर्फ रु. ९४ करोड २४ लाख, पूँजीगततर्फ रु. ४५ करोड २६ लाख तथा वित्तीय व्यवस्थापनतर्फ रु. २ करोड ५० लाख विनियोजन गरिएको छ । आर्थिक वर्ष २०८३\०८४ का लागि नगरपालिकाले कुल रु. १ अर्ब ४२ करोड १ लाख ७ हजार २८५ रुपैयाँको बजेट प्रस्तुत गरिएको हो ।

क्षेत्रगत रूपमा हेर्दा सबैभन्दा बढी बजेट सामाजिक विकास क्षेत्र मा छुट्याइएको छ । नगर अस्पतालसहित सामाजिक विकासका कार्यक्रमका लागि ५३ करोड ४८ लाख ५२ हजार रुपैयाँ विनियोजन गरिएको छ । पूर्वाधार विकासतर्फ ३४ करोड ९८ लाख ६५ हजार २८५ रुपैयाँ बजेट छुट्याइएको छ ।

कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि २९ करोड ५० लाख रुपैयाँ, आर्थिक विकासका कार्यक्रमका लागि ३ करोड १२ लाख ९० हजार रुपैयाँ, वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि १ करोड ३० लाख रुपैयाँ, सुशासन तथा संस्थागत विकासका लागि ४ करोड २५ लाख रुपैयाँ तथा ऋण तथा सावाँ–ब्याज भुक्तानीलगायत वित्तीय व्यवस्थापन शीर्षकमा २ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटमाथि असार १६ गते बस्ने बैठकमा छलफल हुने भएको छ ।