कटहरीः मोरङको कटहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३\०८४ का लागि ६२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको दोस्रो गाउँसभाको नवौँ अधिवेशनमा उपाध्यक्ष सीतादेवी राजवंशीले आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन् ।
बजेटमा संघीय सरकारको वित्तीय समानीकरण अनुदानतर्फ १२ करोड ४९ लाख ९० हजार, राजस्व बाँडफाँटबाट १० करोड २० लाख ६१ हजार, रोयल्टी १५ लाख, सशर्त अनुदान १६ करोड ६५ लाख, समपूरक अनुदान ६५ लाख र विशेष अनुदान ९५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
प्रदेश सरकारबाट राजस्व बाँडफाँट (सवारी साधन कर) अन्तर्गत ८८ लाख ७३ हजार ५१२, समानीकरण अनुदान १ करोड १६ लाख ९८ हजार, सशर्त अनुदान २ करोड ४५ लाख ९० हजार र समपूरक अनुदान ७४ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
कटहरी गाउँपालिकालले चालु आर्थिक वर्षमा ५८ करोड ९१ लाख ४४ हजार ५ सय रुपैयाँ बजेट ल्याएको थियो ।
गाउँपालिकाले संघीय र प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान र आन्तरिक आयलाई बजेटको मुख्य स्रोत मानेको छ ।

















