इटहरी । आज पनि शेयर बजारमा गिरावट आएको छ । शेयर बजार लगातार छैटौँ दिन ओरालो लागेको हो ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.९३ प्रतिशत अर्थात २४.६३ अंकले घटेर २६०८.३३ बिन्दुमा अडिएको छ ।
आज नेप्सेमा सूचीकृत ३६५ कम्पनीको ८७ लाख ३७ हजार ३९२ कित्ता शेयर ७९ हजार २८६ पटक किनबेच हुँदा ३ अर्ब २५ करोड ८७ लाख ५८ हजार १४ रुपैयाँको कारोबार भएको छ । सबै १३ वटै समूहमा रातो पोतिएको छ ।
आज व्यापार समूह सर्वाधिक अर्थात् १.७४ प्रतिशतले घट्दा सिद्धार्थ बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । सो बैंकको आज १३ करोड ३९ लाख ४ हजार १४८ रुपैयाँको कारोबार भएको छ । टक्सार पिखुवा खोला हाईड्रो, आँखुखोला जलविद्युत, एनआरएन इन्फ्रास्ट्रक्चर र याम्बालिङ हाईड्रोको उच्च कारोबार भएको छ ।
हालै दोस्रो बजारमा बिक्री शुरु हुन थालेको स्नो रिभर्सको शेयरमूल्य १५ प्रतिशत बढ्दा कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य १३.०४ प्रतिशत र स्वाभिमान लघुवित्तको १०.८० प्रतिशत मूल्य बढेको छ ।
आईपीओ सूचीकृतपछि लगातार ६ दिन १५ प्रतिशतले मूल्य बढेको टक्सार पिखुवाखोलाको शेयरमूल्य आज सर्वाधिक अर्थात् १४.०३ प्रतिशतले घटेको छ । याम्बालिङ हाईड्रोको सेयरमूल्य ८.२३ प्रतिशत र सोपान फर्मास्युटिकल्सको सेयरमूल्य ५.९० प्रतिशतले घटेको छ । यी सबै कम्पनी हालै दोस्रो बजारमा सूचीकृत भएका थिए ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब ६७ अर्ब ३८ करोड ३० लाख ६९ हजार २३९ रुपैयाँ कायम भएको छ ।


















