इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले कतिपय वन नभएका क्षेत्रलाई समेत वनक्षेत्रका रूपमा परिभाषित गरिँदा जनताले दुःख पाइरहेको उल्लेख गर्दै त्यसमा संशोधनको माग गर्नुभएको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै फिल्डमा दशकौंदेखि वन नभएका कतिपय भूभागलाई कागजमा वनक्षेत्रका रूपमा परिभाषित गरिएको भन्दै केही क्षेत्रमा यस्तो समस्या रहेको उहाँले बताउनुभयो ।
‘मोरङ–३ को कानेपोखरी बजार स्थापना भएको ६० वर्ष पूरा भयो । आजसम्म त्यो बजार कागजी रूपमा वनक्षेत्रमा पर्छ । १९८३ असार १५ गते दही चिउरा खाएर शुरू भएको बयरवन बजार आज ठ्याक्कै १०० वर्ष १० दिनको भयो । त्यहाँ पनि भूमिको समस्या छ,’ उहाँले भन्नुभयो, ‘नेपाली व्याकरण अनुसार वनको क्षेत्रको समासलाई वनक्षेत्र भनिन्छ । तर नेपालको राजनीतिले वन नभएको क्षेत्रलाई वनक्षेत्र बनाएर जनता र व्याकरणको हुर्मत लिइरहेको छ ।’
२०६६ माघ २८ गते वन नभएको क्षेत्रलाई वनक्षेत्रबाट हटाउने अध्यादेशको व्यवस्था स्वागतयोग्य रहेको उल्लेख गर्दै उहाँले सो व्यवस्थालाई कानुन बनाएर त्यसको प्रयोग गर्नुपर्ने बताउनुभयो ।


















