इटहरी । शुक्रबारदेखि पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडको एकीकृत कारोबार शुरु भएको छ ।

ती दुई फाइनान्सबीचको मर्जर प्रक्रिया सम्पन्न भई शुक्रबारदेखि एकीकृत कारोबार सञ्चालन भएको हो । मर्जरपछि दुवै संस्थाको संयुक्त कारोबार ‘पोखरा फाइनान्स लिमिटेड’को नामबाट सञ्चालन भएको छ ।

समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सम्पूर्ण सम्पत्ति, दायित्व, ऋण तथा अन्य वित्तीय दायित्वहरू अब पोखरा फाइनान्स लिमिटेडले वहन गर्ने भएको छ ।

मर्जरपश्चात् संस्थाको केन्द्रीय कार्यालय काठमाडौं–२८, पुतलीसडकमा रहेको छ । त्यहाँ पहिले समृद्धि फाइनान्सको कार्यालय रहेको थियो ।

यसअघि नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडमाथि लागू गरिएको शीघ्र सुधारात्मक कारवाही फुकुवा गरेको थियो । समृद्धि फाइनान्ससँग गाभिएपछि संयुक्त संस्थाको पूँजीकोष अवस्था नियामकीय मापदण्डअनुसार सुधार हुने देखिएकाले उक्त निर्णय गरिएको बैंकले जनाएको थियो ।

नेप्सेले दुवै संस्थाको शेयर कारोबार शुक्रबारदेखि रोकेको छ ।