इटहरी ।  गत साता नेप्से परिसूचक करिब २ प्रतिशत घटेर बन्द भएको छ । अघिल्लो साता २६५३.४० विन्दुमा बन्द भएको नेप्से गत साता १.९८ प्रतिशत अर्थात् ५२.६२ अंक घटेर २६००.७८ विन्दुमा बन्द भएको हो ।

गत साता पाँच कारोबार दिनका लागि खुलेको बजारमा एक कारोबार दिन नेप्से बढेको थियो भने चार कारोबार दिन ओरालो लागेको थियो ।

सातामा कारोबार रकम भने बढेको छ । अघिल्लो साता दैनिक औसतमा ३ अर्ब ६६ करोड रुपैयाँको शेयर किनबेच भएको बजारमा गत साता दैनिक औसतमा ४ अर्ब ८५ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

गत साता १३ वटै उपसमूहको परिसूचक घट्दा सामुहिक लगानी कोष उपसमूहको परिसूचक सबैभन्दा कम ०.७९ प्रतिशत घटेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक ३ प्रतिशत घटेको छ ।

गत साता २ कम्पनीको कुल ९३ लाख २७ हजार ८५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी र हिमालयन पावर पार्टनरको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।

गत साता कालंगा हाइड्रोको शेयरमूल्य सर्वाधिक ३०.५७ प्रतिशत बढेको छ । सानिगाड हाइड्रोको शेयरमूल्य २३ प्रतिशत बढेको छ भने स्नो रिभर्सको शेयरमूल्य करिब १९ प्रतिशत बढेको छ ।

थ्रीस्टार हाइड्रोपावरको शेयरमूल्य सातामा सर्वाधिक २५.६० प्रतिशत झरेको छ ।