इटहरी ।  प्रतिनिधिसभा बैठक साउन १४ सम्मका लागि स्थगित भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकको अन्तिममा सभामुख डिपी अर्यालले बैठक साउन १४ गतेसम्म स्थगित भएको बताउनुभएको हो ।

संसदीय बैठकको यो विश्रामलाई जनतासँगको विमर्शमा रूपान्तरण गर्न सभामुख अर्यालले सांसदहरूलाई आग्रह गर्नुभएको छ ।

यस्तो छ बैठकमा सभामुख अर्यालले गरेको सम्बोधनको पूर्ण पाठः

माननीय सदस्यहरू,
प्रतिनिधिसभा, २०८२ को दोस्रो अधिवेशनमा हामीले केही महत्त्वपूर्ण विधेयकहरू पारित गरेका छौं । यही चालु अधिवेशनमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम सहित विनियोजन विधेयक २०८३, आर्थिक विधेयक २०८३ र राष्ट्र ऋण उठाउने विधेयक २०८३ समेत पारित गरेका छौं ।

नयाँ गठन भएको प्रतिनिधिसभाको अधिवेशनमा माननीय सदस्यहरूको भूमिका सक्रिय रहेको ठानेको छु र आगामी बैठकहरूमा अझ बढी सक्रियताको अपेक्षा समेत गरेको छु ।

हामी आर्थिक वर्ष २०८२–८३ को करिब अन्त्यमा आइपुगेका छौं । चालु आर्थिक वर्षमा जारी भएका राज्यका नीति तथा सम्पादन भएका कार्यक्रम, तर्जुमा गरिएका कानुन र सेवा प्रवाहप्रति जनस्तरको प्रतिक्रिया, चासो र सुझावहरू सुन्ने र बुझ्ने प्राथमिक दायित्व प्रतिनिधिसभाका सदस्यहरूको रहने विषयमा समेत म सचेत छु ।

हाम्रो संविधानले संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध, सहकारिता, सहअस्तित्व र समन्वयमा आधारित हुने संवैधानिक सिद्धान्त स्थापित गरेको छ । यो संवैधानिक मूलमर्मलाई आत्मसात गर्दै तीनवटै तहबीचको विकास, कानुन निर्माण एवं सार्वजनिक सेवा प्रवाहसम्बन्धी विषयलाई थप सुमधुर तुल्याउने र प्रदेश सरकार एवं स्थानीय तहका भोगाइ, जटिलता र अपेक्षाहरूलाई संघीय तहसँग जोड्ने नेतृत्वदायी भूमिका समेत प्रतिनिधिसभा सदस्यले लिनुपर्दछ ।

संसद लोकतन्त्रको केन्द्रविन्दु हो । तर संसदको जीवन्तता सांसदहरू जनतासँग कति निकट छन् भन्ने कुराले निर्धारण गर्दछ ।

प्रतिनिधिसभाका सदस्यहरू जनप्रतिनिधिसँगै जनता र संसदबीच विश्वास, संवाद र उत्तरदायित्व जोड्ने लोकतान्त्रिक सेतु पनि हुन् । जनताका आवाज, आकांक्षा र अपेक्षालाई संसदको निर्णय प्रक्रियासम्म पुर्याउने र संसदका निर्णयलाई पुनः जनतामाझ स्थापित गर्ने दुईतर्फी दायित्व नै जनप्रतिनिधित्वको सार हो ।

जनताबीच निरन्तर पुग्नु, जनतासँग संवाद गर्नु र जनमतलाई संसदीय प्रक्रियामा प्रतिविम्बित गर्नु प्रत्येक माननीय सदस्यको आधारभूत संसदीय जिम्मेवारी हो ।

तसर्थ, तीनवटै तहबीचको सम्बन्धलाई थप सुदृढ बनाउने, जनताका आवाजलाई सदनसँग जोड्ने र विधेयकहरूमाथि व्यापक बहसको पृष्ठभूमि तयार गर्ने महत्त्वपूर्ण कार्यमा आफ्ना मतदाता एवं नागरिक समक्ष पुग्न माननीय सदस्यहरूलाई समय आवश्यक भएको महसुस गरेको छु ।

संसद र जनताबीचको सम्बन्ध जति सुदृढ हुन्छ, लोकतन्त्र त्यति नै उत्तरदायी, सहभागितामूलक र विश्वासयोग्य बन्छ ।

माननीय सदस्यहरूमार्फत् जनताका विषयहरू पुनः सदनमा प्रवेश गर्नेछन्, संसदको आवाज बन्नेछन् र सरकारको जवाफदेहिताको विषय बन्नेछ । जनताबाट संसदसम्म समस्या र संसदबाट सरकारसम्म समाधानको माग पुगेर जनताका आवाजको समाधान हुनु नै प्रतिनिधिमूलक लोकतन्त्रको शक्ति हो भन्ने महसुस गरेको छु ।

साथै, सरकारले आगामी आर्थिक वर्षलाई ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा गरेको छ । प्रचलित कानुनको पुनरवलोकन, संशोधन, एकीकरण तथा आवश्यक नयाँ कानुन निर्माणको यस अभियानमा संसदको महत्त्वपूर्ण भूमिका हुने भएका कारण आगामी बैठकहरूमा माननीय सदस्यहरूको भूमिका सक्रिय रहनेछ भन्ने विश्वास लिएको छु ।

माननीय सदस्यहरू, संसदीय बैठकको विश्रामलाई जनतासँगको विमर्शमा रूपान्तरण गर्नुहोस् भन्ने शुभकामना व्यक्त गर्दै प्रतिनिधिसभाको अर्को बैठक २०८३ साउन १४ गते बिहीबार बिहान ११ बजे बस्ने गरी यो बैठक यहीँ स्थगित हुन्छ ।