इटहरी । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका ग्राहकको विवरण राष्ट्रिय परिचयपत्रसँग जोड्ने प्रक्रियालाई थप व्यवस्थित बनाएको छ ।
बैंकले जारी गरेको सर्कुलरअनुसार बैंक तथा वित्तीय संस्थाले २०८३ असोज मसान्तभित्र आफ्ना खातावालासँग राष्ट्रिय परिचयपत्रको विवरण भए÷नभएको स्वघोषणा लिनुपर्नेछ । यस्तो स्वघोषणा बैंकको मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट लिन सकिनेछ ।
राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका ग्राहकको हकमा बैंकले सोही अवधिभित्र परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर लिएर ग्राहक पहिचानसम्बन्धी विवरण अद्यावधिक गर्नुपर्नेछ ।
राष्ट्रिय परिचयपत्र नलिएका ग्राहकको खाता भने तत्काल बन्द वा कारोबार रोक्का गरिने व्यवस्था गरिएको छैन । त्यस्ता ग्राहकलाई राष्ट्रिय परिचयपत्र लिन र बैंकमा रहेको ग्राहक पहिचान विवरण अद्यावधिक गर्न प्रत्येक छ महिनामा मोबाइल एप्लिकेसन, एसएमएस वा अन्य उपयुक्त माध्यमबाट जानकारी गराउनुपर्ने भएको छ ।
त्यस्तै, विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रबाहेकका आवश्यक कागजातका आधारमा अनलाइनमार्फत् बैंक खाता खोल्न सक्ने विद्यमान सुविधालाई राष्ट्र बैंकले निरन्तरता दिएको छ ।
तर, त्यस्ता नागरिक नेपाल फर्किएपछि ३५ दिनभित्र बैंक तथा वित्तीय संस्थाले उनीहरूको राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण लिएर खाता अद्यावधिक गर्नुपर्नेछ ।
आफ्नो हेरचाह आफैँ गर्न नसक्ने, अशक्त तथा असहाय नागरिक र १६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि राष्ट्रिय परिचयपत्र नभए पनि प्रचलित व्यवस्थाअनुसारका अन्य आवश्यक कागजातका आधारमा बैंक खाता खोल्न र कारोबार गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
नयाँ व्यवस्थासँगै बैंक तथा वित्तीय संस्थामा रहेका ग्राहकका विवरण क्रमशः राष्ट्रिय परिचयपत्रको केन्द्रीय प्रणालीसँग जोडिँदै जाने र यसबाट एउटै व्यक्तिले फरक–फरक विवरण प्रयोग गरी खाता खोल्ने, नक्कली पहिचान प्रयोग गर्ने वा दोहोरो ग्राहक विवरण कायम गर्ने जोखिम घट्ने राष्ट्र बैंकले जनाएको छ ।


















