विराटनगरः नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयातीत सामान बोकेको कार्गो रेल पहिलोपटक भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगर आइपुगेको छ । गत शुक्रबार कोलकाताबाट छुटेको औद्योगिक कच्चा पदार्थ बोकेको रेल सोमबार दिउँसो विराटनगरस्थित भन्सार यार्डमा आइपुगेको हो ।
सो रेलले मोरङ–सुनसरी औद्योगिक करिडोरमा रहेको स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको औद्योगिक कच्चा पदार्थ ल्याएको छ । यसअघि यस्ता सामान ट्रकबाट वा भारतको बथनाहासम्म मात्र रेलमार्फत् ल्याइने गरिएको थियो । अब भने कोलकाताबाट सिधै नेपालको भन्सार बिन्दुसम्म ल्याइने भएको हो ।
रेलमार्फत् सामान आइपुग्न थालेपछि पूर्वी नेपालका उद्योगी–व्यवसायीलाई ढुवानीमा समय र लागत दुवै बचत हुने अपेक्षा गरिएको छ । यसलाई नेपाल–भारतबीचको पारवहन व्यवस्थामा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । कार्गो रेल सेवाको औपचारिक शुभारम्भ कोलकातामा आयोजित विशेष समारोहमा गरिएको थियो ।
कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, भारतीय भन्सारका उच्च अधिकारी, कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम लिमिटेड (कोनकोर) का प्रतिनिधिले संयुक्त रूपमा हरियो झण्डा देखाएर रेललाई बिदाइ गरेका थिए ।
सोमबार विराटनगर भन्सार यार्डमा रेल आइपुग्दा भन्सार कर्मचारी, स्थानीय उद्योगी तथा व्यवसायीले स्वागत गरेका थिए ।
विराटनगरको एकीकृत जाँच चौकीसम्म कार्गो रेल सञ्चालन गर्ने उद्देश्यले २०८० साल जेठमा परीक्षणका रूपमा रेल ल्याइएको भए पनि नीतिगत जटिलता र प्रक्रियागत समन्वय अभावका कारण सेवा नियमित हुन सकेको थिएन ।


















