विराटनगरः गलत सूचनाका आधारमा उद्योगी–व्यवसायीमाथि छापा मार्ने, सार्वजनिक रूपमा बदनाम गर्ने र लगानीकर्तालाई आतंकित बनाउने शैलीले निजी क्षेत्र राज्यप्रति गम्भीर रूपमा असन्तुष्ट बनेको नेपाल उद्योग परिसंघ कोशी प्रदेशले जनाएको छ ।

परिसंघले आज जारी गरेको विज्ञप्तिमा यस्ता गतिविधिले लगानीको वातावरण थप कमजोर बनाउने जनाइएको छ । परिसंघका अध्यक्ष पवनकुमार सारडाको हस्ताक्षरमा जारी विज्ञप्तिमा कुनै पनि नागरिक वा संस्थामाथि कानुनबमोजिम अनुसन्धान गर्ने अधिकार राज्यलाई भए पनि त्यसको प्रयोग गर्दा संविधानले प्रत्याभूत गरेका मौलिक हक, गोपनीयताको अधिकार, मानवीय मर्यादा र सम्मानको पूर्ण संरक्षण हुनुपर्ने उल्लेख छ ।

आज बिहान विराटनगरस्थित देवनरा ग्रुपका उद्योगी तथा परिसंघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुण्दडाको निवास र कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरी करिब साढे पाँच घण्टा खानतलासी गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाइएको छ । बिहानै घर घेराबन्दी गरी परिवारका सदस्यलाई मानसिक दबाबमा राख्ने र पर्याप्त आधार सार्वजनिक नगरी गरिएको कारबाहीले सम्पूर्ण उद्योगी–व्यवसायीको मनोबलमा नकारात्मक असर परेको परिसंघको भनाइ छ ।

कमजोर सूचनाका आधारमा उद्योग–व्यवसायीको घरमा छापा मार्ने, सार्वजनिक रूपमा बदनाम गर्ने र आतंकित बनाउने कार्य राज्यको जिम्मेवार व्यवहारसँग मेल नखाने सारडाले बताएका छन् । यस्तो कारबाही किन आवश्यक परेको हो, कुन कानुनी आधार र सूचनाका आधारमा गरिएको हो तथा खोजतलासीबाट के प्राप्त भयो भन्ने विषयमा सरकारले पारदर्शी रूपमा सार्वजनिक जानकारी दिनुपर्ने माग पनि विज्ञप्तिमा गरिएको छ ।

सरकारले निजी क्षेत्रलाई राष्ट्रनिर्माणको साझेदारका रूपमा सम्मान गर्दै विश्वासको वातावरण सिर्जना गर्नुपर्नेमा परिसंघले जोड दिएको छ ।

मुलुक आर्थिक मन्दी, लगानी संकुचन र रोजगारी सङ्कटबाट गुज्रिरहेका बेला निजी क्षेत्रलाई त्रसित बनाउने शैलीले स्वदेशी तथा विदेशी लगानी निरुत्साहित हुने, उद्योगी पलायनको जोखिम बढ्ने र आर्थिक विकासमा दीर्घकालीन नकारात्मक असर पर्ने जनाइएको छ ।