इटहरीः ४१८ किलो गाँजासहित चार जनालाई प्रहरीले सुनसरीको बराहक्षेत्रबाट पक्राउ गरेको छ । वराहक्षेत्र नगरपालिका–१ स्थित गुप्त बराह नजिकै बराहक्षेत्र–चतरा भित्री सडकखण्डमा लागूऔषध ओसारपसार तथा कारोबार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहान ५ः३० बजे बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको प्रदेश १–०२–००२ च ४८५१ नम्बरको कार र को ११ प ५६०१ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा कारभित्र २२ वटा प्लास्टिकका पोकामा प्याक गरी राखिएको अवस्थामा ४१८ किलो गाँजा फेला परेको हो ।
प्रहरीले गाँजा ओसारपसारमा संलग्न धरान उपमहानगरपालिका–१३ का ३४ वर्षीय थमन राई र ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–५ का २२ वर्षीया जीवनी राई, मोटरसाइकल चालक मोरङको कटहरी गाउँपालिका–३ का २६ वर्षीय अमर कामत र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३८ वर्षीय शंकर चौधरीलाई पक्राउ गरेको छ ।
बरामद गाँजा, कार र मोटरसाइकलसहित पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


















