काठमाडौंः नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र बजारलाई थप सुदृढ, पारदर्शी र प्रविधिमैत्री बनाउन नेपाल स्टक एक्सचेन्ज (नेप्से), सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी), धितोपत्र दलाल, मर्चेन्ट बैंकर तथा सूचीकृत कम्पनीहरूलाई सम्बोधन गर्दै निर्देशनहरू जारी गरेको छ ।
बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै लगानीकर्ताको हित संरक्षण र बजारको आधुनिकीकरणका लागि यी निर्देशनहरू दिएको हो ।
यस्तो छ नेप्सेलाई निर्देशन
बोर्डले नेप्सेलाई कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) को आइटी अडिट र भिएपीटी गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ भने कारोबार प्रणाली (नोट्स) मा देखिएका समस्या पहिचान गरी प्रणालीलाई थप आधुनिक र सक्षम बनाउन भनेको छ ।
चर्चामा रहेको कृत्रिम बौद्धिकताको प्रयोग गरी हुने कारोबारका सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यास र नेपालको आवश्यकताको अध्ययन नभएसम्मका लागि एआईमा आधारित अर्डर प्रविष्टिलाई रोक्न र यसबारे लगानीकर्तालाई जानकारी गराउन बोर्डले निर्देशन दिएको छ । यसका साथै मोबाइल एपमार्फत दोस्रो बजार कारोबारको व्यवस्था मिलाउन, ‘आफ्टर मार्केट अर्डर’ प्रभावकारी बनाउन र सि–केवाइसी लाई टिएमएससँग जोड्न समेत निर्देशन दिइएको छ ।
बोर्डले नेप्से ३० र नेप्से हाई क्याप जस्ता नयाँ सूचकाङ्कहरू विकास गर्न र फ्री–फ्लोट शेयरका आधारमा सूचकाङ्क गणना गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ । लगानीकर्ताको सुविधाका लागि सिडिएससी र टिएमएस बीच एपीआई इन्टिग्रेसन गरी ‘अटो इडिआईएस’ प्रणाली लागू गर्न बोर्डले निर्देशन दिएको छ । यसबाट शेयर बिक्री गरेपछि लगानीकर्ताले म्यानुअल रूपमा इडिआईएस गर्नुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ ।
सिडिएससीमार्फत् लगानीकर्तालाई आईपीओ निष्कासन, बोनस तथा हकप्रद शेयर, सेटलमेन्ट र डिम्याट डेबिट जस्ता विवरणहरू मोबाइलमा ‘पुस नोटिफिकेसन’ मार्फत् तत्काल जानकारी दिने व्यवस्था मिलाउन भनिएको छ ।
बोर्डले टिएमएसमा देखिने डीपी होल्डिङ र सिडिएससीको वास्तविक होल्डिङ बीच देखिएको भिन्नता अन्त्य गर्न रियल–टाइम रिकन्सिलेसनको व्यवस्था गर्न र ‘फ्र्याक्सन शेयर’ (टुक्रा शेयर) कारोबारका सम्बन्धमा रहेका समस्या समाधान गर्न अध्ययन गरी प्रतिवेदन बुझाउन समेत निर्देशन दिएको छ ।
धितोपत्र दलाललाई निर्देशन
धितोपत्र दलालहरूका हकमा बोर्डले ग्राहकको रकम र दलालको आफ्नै रकम छुट्टाछुट्टै बैंक खातामा राख्ने व्यवस्था कडाइका साथ लागू गर्न निर्देशन दिएको छ । दलाल कम्पनीहरूले लगानीकर्ताको गुनासो व्यवस्थापनका लागि अनिवार्य रूपमा ‘गुनासो समाधान इकाइ’ गठन गर्नुपर्ने र महिना समाप्त भएको तीन कार्यदिनभित्र त्यसको विवरण बोर्डमा पेश गर्नुपर्नेछ ।
धितोपत्र कारोबारको राफसाफ (टी+२) अवधिमा लगानीकर्तालाई रकम उपलब्ध गराउने व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि दलाल र नेप्सेलाई सचेत गराइएको छ ।
मर्चेन्ट बैंकरहरूलाई निर्देशन
यता मर्चेन्ट बैंकरहरूलाई धितोपत्र निष्काशन गर्दा स्वार्थको द्वन्द्व नहुने सुनिश्चितता गर्न र नयाँ आईपीओ निष्काशनको निवेदन दिँदा लेखापरीक्षण प्रतिवेदन अनिवार्य रूपमा संलग्न गर्न निर्देशन दिइएको छ ।
सूचीकृत कम्पनीलाई निर्देशन
सूचीकृत कम्पनीहरूका हकमा बोर्डले ठूला शेयरधनीहरूका लागि नयाँ नियम ल्याएको छ । अब कुनै पनि कम्पनीका ५ प्रतिशत वा सोभन्दा बढी शेयर धारण गरेका आधारभूत शेयरधनीले आफ्नो शेयर बिक्री गर्नुभन्दा १५ दिन अगावै सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्नेछ र कम्पनीले सो जानकारी नेप्सेमार्फत् सार्वजनिक गर्नुपर्नेछ ।
सामूहिक लगानी कोषलाई निर्देशन
सामूहिक लगानी कोष (म्युचुअल फन्ड) का योजना व्यवस्थापकहरूले आफ्ना योजनाहरूको स्वीकृत विवरण पुस्तिका, दैनिक बिक्री र पुनःखरिद भएका एकाइहरू, न्याभ र इकाइधनीहरूको सङ्ख्यासम्बन्धी विवरण अनिवार्य रूपमा आफ्नो वेबसाइटमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।
बजारमा वित्तीय साक्षरता अभिवृद्धि गर्न नेप्से, सिडिएससी, ब्रोकर र मर्चेन्ट बैंकर सबैलाई महिनाको कम्तीमा एउटा कार्यक्रम सञ्चालन गर्न समेत बोर्डले निर्देशन दिएको छ । यी कदमहरूले नेपाली पूँजी बजारको पारदर्शिता बढ्ने र लगानीकर्ताको मनोबल उच्च हुने विश्वास धितोपत्र बोर्डले लिएको छ ।


















