इटहरी । लगातार चौथो दिन हिजो पनि शेयर बजारको सूचक बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.७१ प्रतिशत अर्थात १८.०७ अंकले बढेर २ हजार ५६०.८४ विन्दुमा अडिएको छ ।

नेप्सेमा सूचीकृत ३५२ स्टकको ५० हजार ८४४ पटकको कारोबारमा ९२ लाख ९८ हजार ९४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८३ करोड १५ लाख ८४ हजार ४२३ रुपैयाँको शेयर किनबेच भएको छ । शुक्रबार ३ अर्ब ४६ करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।

सोमबार कारोबारमा आएका १३ समूहमध्ये दुई ओटा बाहेक सबैमा हरियाली छाएको थियो । फाइनान्स र व्यापार समूह क्रमशः ०.४३ र ०.०९ प्रतिशतले घटेका थिए ।

निर्जीवन बीमा समूह सर्वाधिक अर्थात २.०५ प्रतिशतले बढेको थियो ।

सूचक बढेको बजारमा रिलायन्स स्पीनिङ मिल्सको सर्वाधिक २५ करोड २१ लाख ६६ हजार १२२ रुपैयाँको शेयर किनबेच भएको थियो । गरिमा विकास बैंकको १७ करोड ७८ लाख, सोलु हाईड्रोको १६ करोड २७ लाख, एसवाई प्यानल नेपालको १३ करोड ४४ लाख र सुपर मादी हाईड्रोको १० करोड १९ लाख रुपैयाँको शेयर किनबेच भएको थियो ।

पियोर इनर्जीको शेयरमूल्य १५ प्रतिशतले बढ्दा तीन ओटा कम्पनीको शेयरमूल्य १५ प्रतिशतले घटेको थियो । इमर्जिङ नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सको शेयरमूल्य १५ प्रतिशतले घटेको थियो ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब ४ अर्ब ९८ करोड ९० लाख ५१ हजार ७३७ रुपैयाँ निर्धारण भएको छ ।