पोखराः पोखरा उद्योग वाणिज्य संघको ७२ वर्षे इतिहासमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न संघको ३६ औं महाधिवेशन तथा ७२ औं वार्षिक साधारणसभा पछि नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको अन्तिम मत परिणाम सोमबार साँझ सार्वजनिक गर्दै निर्वाचन समितिले शोभा गौतमलाई अध्यक्षमा निर्वाचित भएको घोषणा गरेको हो ।
गौतमले ७५१ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी अर्जुन पोखरेलले ६३६ मत ल्याउनुभयो । उत्तममान बुद्धाचार्यले ६०१ र बलराम आचार्यले २५३ मत ल्याउनुभएको थियो । गौतम संघ स्थापना भएको ७२ वर्षमा पहिलो महिला अध्यक्ष बन्नुभएको हो ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला, उद्योग उपाध्यक्षमा सौगात थापा, वाणिज्य उपाध्यक्षमा मनोजकुमार श्रेष्ठ, महासचिवमा सुदीप प्रधानाङ्ग, उपमहासचिवमा प्रदीप राजभण्डारी र कोषाध्यक्षमा देवेन्द्र प्रजु निर्वाचित हुनुभएको छ ।
कार्यसमिति सदस्यमा दुर्गा बराल, अमृत पोखरेल, निर्मला चापागाईं, गोविन्दबहादुर केसी, रामेश्वर अधिकारी, मनोहरी पौडेल, भानुभक्त अधिकारी, दिलीपकुमार श्रेष्ठ, रामप्रसाद कँडेल र कमलप्रसाद सुनार निर्वाचित हुुनुभएको छ ।
वस्तुगततर्फ केशव ढकाल, मुक्तिप्रसाद पनेरू, लक्ष्मीप्रसाद अधिकारी र लालप्रसाद पनेरू तथा उद्योग सदस्यमा पिताम्बर अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ ।
संघको नेतृत्व महिलाको हातमा ल्याउन यसअघि बिन्दु कोइराला र हीरा भट्टराईले गरेको प्रयास सफल भएको थिएन ।

















