इटहरी । पछिल्लो चार कारोबार दिनदेखि बढिरहेको शेयर बजार हिजो घटेको छ । हिजो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.६० प्रतिशत अर्थात् १५.४३ अंक घटेर २ हजार ५४५.४० अंकमा अडिएको छ ।
नेप्सेमा सूचीकृत ३५२ स्टकको १ करोड ९ लाख ६५ हजार ५४२ कित्ता शेयर ५० हजार ८०४ पटक किनबेच हुँदा ४ अर्ब १९ करोड ८९ लाख २१ हजार ३९ रुपैयाँको शेयर किनबेच भएको छ । अघिल्लो दिन ३ अर्ब ८३ करोड १५ लाख रुपैयाँको शेयर किनबेच भएको थियो ।
नेप्सेमा वर्गीकृत १३ वटै समूहमा रातो पोतिँदा विकास बैंक समूह सर्वाधिक अर्थात् २.३७ प्रतिशतले घटेको थियो ।
बुधबार पनि रिलायन्स स्पीनिङ मिल्सको सर्वाधिक अर्थात् ४२ करोड ७६ लाख ७४ हजार १९४ रुपैयाँको शेयर कारोबार भयो ।सेन्ट्रल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, सोलु हाइड्रो र शिवम् सिमेण्ट्स उच्च कारोबार गर्ने अन्य कम्पनीमा परे ।
सबै समूहको सूचक घटेको बजारमा अपर लोहरे खोला हाईड्रोपावरको शेयरमूल्य १५ प्रतिशत बढ्यो ।
इमर्जिङ नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सको शेयरमूल्य सर्वाधिक अर्थात् १५ प्रतिशतले घट्यो ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ४३ खर्ब ७८ अर्ब ४३ करोड ८१ लाख ८३ हजार २३५ रुपैयाँ कायम भएको छ ।


















