काठमाडौंः देशभर भएको घरजग्गा किनबेच तथा लिखत पारितबाट गत महिना ३ अर्ब ९१ करोड २८ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभाग मातहतका देशभरका १५८ वटा भूमि प्रशासन (मालपोत) कार्यालय तथा स्थानीय तहहरूले सङ्कलन गरेको एकीकृत विवरणले घरजग्गा कारोबारबाट सो परिमाणमा राजस्व उठेको देखाएको हो ।
भदौ महिनामा सङ्कलित कुल राजस्वमध्ये सबैभन्दा ठूलो हिस्सा घरजग्गाको लिखत रजिष्ट्रेशन दस्तुर र पूँजीगत लाभकर रहेको छ ।
देशभरबाट रजिष्ट्रेशन दस्तुरबापत १ अर्ब ९० करोड २१ लाख रुपैयाँ र पूँजीगत लाभकरबापत १ अर्ब ७९ करोड ३५ लाख रुपैयाँ आम्दानी भएको छ ।
सेवा करबाट १६ करोड ८२ लाख रुपैयाँ, मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबाट २ करोड ३ लाख रुपैयाँ तथा डोर सुविधा, विलम्ब शुल्क र रोक्का दस्तुरबापत करिब २ करोड ८० लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ ।
भदौ महिनामा संकलित कुल राजस्वको ५५ प्रतिशतभन्दा बढी हिस्सा काठमाडौं उपत्यकाभित्रका ९ वटा कार्यालयहरूले मात्रै ओगटेका छन् । उपत्यकाका कार्यालयहरूबाट मात्रै २ अर्ब १६ करोड २७ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
देशभरमै सबैभन्दा बढी राजस्व सङ्कलन गरेर भूमि प्रशासन कार्यालय भक्तपुर पहिलो स्थानमा आएको छ । भक्तपुरले ४९ करोड १६ लाख ९७ हजार ५२० रुपैयाँ राजस्व उठाएको छ । जसमा रजिष्ट्रेशन दस्तुरबाट २२ करोड ११ लाख र पूँजीगत लाभकरबाट २५ करोड १४ लाख रुपैयाँ सङ्कलन भएको छ ।
ललितपुरको लगनखेल कार्यालयले ३८ करोड ८० लाख ७४ हजार ८०४ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
उपत्यकाबाहिर सबैभन्दा बढी राजस्व सङ्कलन गर्नेमा भूमि प्रशासन कार्यालय कास्की (पोखरा) रहेको छ । सो कार्यालयले भदौ महिनामा १६ करोड ८३ लाख ७ हजार ५६० रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
त्यसपछि सुनसरीको इनरुवा कार्यालयले १५ करोड ४२ लाख १६ हजार ६८३ रुपैयाँ र रुपन्देहीको बुटवल कार्यालयले ११ करोड ८८ लाख १ हजार ८९ रुपैयाँ राजस्व उठाएका छन् ।


















