इटहरी । आजदेखि नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । मुद्रा व्यवस्थापन विभागले असोज ८ गतेदेखि ‘सिरिज २०२५’ को नयाँ नोट चलनचल्तीमा ल्याएको जनाएको हो ।
नोटको रङ र साबिकको आकारमा परिवर्तन नगरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । नयाँ नोटको अगाडिको भागमा सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानीछाप छ । दृष्टिविहीन व्यक्तिले छामेर दर पहिचान गर्न सकून् भनेर नोटमा ‘M’ आकारको स्पर्शयोग्य चिह्न राखिएको छ । नोटको सुरक्षण धागोमा ‘NRB’ र ‘१०००’ अंकित छ ।
गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहेको नोटको पछाडिको भागमा चितवनको सरकारी हात्तीसारमा रहेका राम र लक्ष्मण नामका दुई हात्तीको चित्र राखिएको छ ।


















