विराटचोकः मोरङको सुन्दरहरैँचा नगरपालिकाको विराटचोकमा रहेको औद्योगिक प्रदर्शनीस्थलमा यही असोज २५ गते घटस्थापनादेखि कात्तिक १० गतेसम्म सुन्दरहरैँचा फुड फेस्टिभलको आयोजना हुने भएको छ । 


आयोजक सुन्दरहरैँचा उद्योग वाणिज्य संघले अहिले मेला स्थल सरसफाइ गर्नुका साथै आवश्यक अन्य तयारी गरिरहेको छ । असोज १५ गते भएको ‘रन सुन्दरहरैँचा’का सहभागीले पनि मेलास्थलको सरसफाइ गरेका थिए  । 


संघका अध्यक्ष नारायण कार्कीका अनुसार स्थानीय व्यवसायीको व्यावसायिक प्रवद्र्धनको लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । 


फुड फेस्टिभलका संयोजक भोलेश्वर दुलालले दशैँ र तिहारलाई लक्षित गरी आयोजना गर्न लागिएको फेस्टिभलमा विभिन्न नयाँ स्वादका खानाका परिकार उपलब्ध हुने बताउनुभयो । 

संघका महासचिव हरि कार्कीका अनुसार फुड फेस्टिभलसँगै मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रम, रमाइला खेलहरू र चर्चित कलाकारहरूको प्रस्तुति समेत रहनेछन् । 


फेस्टिभलले नगरको आर्थिक क्षेत्र थप चलायमान हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।