इटहरी । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला (पन्त) निर्वाचित हुनुभएको छ ।
महामन्त्रीको खुलातर्फ प्रदीप पौडेल ४ हजार १९४ मतसहित विजयी हुनुभएको हो । उहाँ उपसभापति र महामन्त्री निर्वाचनमा सबभन्दा बढी मत प्राप्त गर्ने उम्मेद्वार पनि बन्नुभएको छ ।
अर्का महामन्त्री उदयशमशेर राणा २ हजार ३३० मतसहित निर्वाचित हुनुभएको हो ।
महामन्त्रीका अन्य प्रतिस्पर्धीमध्ये सुनिलकुमार शर्माले २ हजार २५७ मत ल्याउनुभएको छ । राणा र शर्माबीच जम्मा ७३ मतको अन्तर छ ।
खुला महामन्त्रीका अन्य उम्मेदवारमध्ये गुरूराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुन मगरले १ हजार १२५, शंकर तिवारीले १२३ र सन्तोष उपाध्यायले ९७ मत ल्याउनुभएको छ ।
महिला महामन्त्रीमा डिला संग्रौला (पन्त) ३ हजार ११८ मत सहित विजयी हुनुभएको छ । उहाँकी निकटतम प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय ‘डिना’ ले २ हजार ८६४ मत ल्याउनुभएको छ । डिला र डिनाबीच २५४ मतान्तर छ । अर्की प्रतिस्पर्धी रीता खनालले ८०४ मत ल्याउनुभएको छ ।
यस्तो छ महामन्त्री पदको अन्तिम मतपरिणाम
महामन्त्री — खुला (२ पद)
प्रदीप पौडेल (विजयी)— ४,१९४
उदयशमशेर राणा (विजयी)— २,३३०
सुनिलकुमार शर्मा— २,२५७
गुरूराज घिमिरे— १,५१३
नैनसिंह महर— १,१३४
अमरसिंह पुन मगर— १,१२५
शंकर तिवारी— १२३
सन्तोष उपाध्याय— ९७
महामन्त्री — महिला (१ पद)
डिला संग्रौला (विजयी)— ३,११८
महालक्ष्मी उपाध्याय ‘डिना’— २,८६४
रीता खनाल— ८०४
कांग्रेस सभापतिमा गगन थापा प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गरी विजयी भइसक्नुभएको छ ।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित हुनुभएको छ ।
कांग्रेसले यस महाधिवेशनबाट पदाधिकारीको संख्या विस्तार गरेको छ । संशोधित विधान अनुसार पार्टीमा एक वरिष्ठ उपसभापतिसहित चार उपसभापति र तीन महामन्त्री रहने व्यवस्था गरिएको छ ।
चार उपसभापतिमध्ये दुई खुला, एक महिला र एक समावेशी समूहबाट निर्वाचित हुने व्यवस्था छ ।
महामन्त्रीमध्ये दुई खुला र एक महिला समूहबाट निर्वाचित हुनेछन् । यसअघि कांग्रेसमा दुई उपसभापति र दुई महामन्त्री रहने व्यवस्था थियो ।
महाधिवेशनले केन्द्रीय कार्यसमितिको आकार पनि बढाएर २९७ सदस्यीय बनाएको छ ।
सहमहामन्त्रीको मत गणना जारी छ ।


















