काठमाडौंः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सामाजिक सञ्जालमार्फत् यसपटकको एनपीएलमा डीआरएस प्रयोग गरिने जानकारी दिएको हो ।

क्यानका सचिव पारस खड्काले यसअघि नै एनपीएलमा पहिलोपटक डीआरएस भित्र्याउने तयारी भइरहेको बताएका थिए । त्यसका लागि दुई कम्पनीको प्रविधि परीक्षण गरिएको र तथ्यपरकता (एक्युरेसी) मूल्याङ्कनपछि अन्तिम निर्णय लिइने उनले उल्लेख गरेका थिए ।

डीआरएस क्रिकेटमा अम्पायरको निर्णयमाथि पुनरावलोकन गर्न प्रयोग गरिने प्रविधि हो । यसले अम्पायरको निर्णयमा चित्त नबुझेमा खेलाडीलाई रिभ्यू माग्ने अवसर दिन्छ । यसबाट गलत निर्णय सच्याउन र खेललाई थप निष्पक्ष बनाउन सहयोग पुग्छ ।

क्यानका अनुसार एनपीएलमा एलबीडब्लुको रिभ्यूका लागि फूल थ्रीडी बल ट्र्याकिङ प्रविधि प्रयोग हुनेछ । त्यस्तै, रनआउट, स्टम्पिङ र नो बलको पनि रिभ्यु गर्न सकिनेछ ।

यसैगरी, एआई प्रविधिमार्फत् ब्याटमा बलले एज लिएको वा नलिएको पहिचान गरिनेछ । हाइटका आधारमा वाइडको मूल्यांकन, छक्काको दूरी र उचाइ मापन तथा अन्य बलिङ एनालिटिक्ससमेत उपलब्ध हुने क्यानले जनाएको छ ।

डीआरएसको प्रयोगले एनपीएलमा अम्पायरको निर्णयमाथि पुनरावलोकन गर्न सहज हुने र खेलको निष्पक्षता बढ्ने अपेक्षा गरिएको छ ।