काठमाडौंः साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीचको भीडन्तसँगै नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आज शुरु हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न साढे ४ बजे हुने उद्घाटन खेलमा गत संस्करणका फाइनलिस्ट आमनेसामने हुँदैछन् ।

अघिल्लो संस्करणको भेटमा सुदूरपश्चिमले सुरुआती अग्रता बनाए पनि उपाधि भिडन्तमा लुम्बिनीले बाजी मारेको थियो ।

पहिलो संस्करणमा सुदूरपश्चिमले लुम्बिनीलाई ४५ रनले हराएको थियो । सैफ जैबको ९० रनको मद्दतमा सुदूरपश्चिमले २० ओभरमा चार विकेट गुमाएर १८७ रन बनाएको थियो । जवाफमा लुम्बिनीले नौ विकेट गुमाएर १४२ रन मात्रै बनाएको थियो ।

दोस्रो संस्करणको लिग चरणमा पनि सुदूरपश्चिमले लुम्बिनीलाई सात विकेटले हराएको थियो । तर, फाइनलमा पुग्दा नतिजा उल्टिएको थियो । उपाधिका लागि भएको भीडन्तमा सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमै समेटिँदा लुम्बिनीले ८६ रनको लक्ष्य नौ ओभरमै चार विकेट गुमाएर पूरा गर्दै ६ विकेटको जीतसहित पहिलोपटक एनपीएल उपाधि जितेको थियो ।

अब तेस्रो संस्करणको उद्घाटन खेलमा दुवै टोली फेरि आमनेसामने हुँदैछन् । रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी जीतबाटै उपाधि रक्षाको अभियान शुरु गर्न चाहन्छ । उता, दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम अघिल्लो फाइनलको हारको जवाफ दिन चाहन्छ ।

दुई संस्करणका तीन भेटमा सुदूरपश्चिमले दुई खेल जितेको छ भने सबैभन्दा महत्त्वपूर्ण मानिएको फाइनलमा लुम्बिनी विजयी भएको थियो ।