विराटचोकः कात्तिक ८ गते शुरु भएको राष्ट्रव्यापी मेची–महाकाली मुक्तिनाथ रथ यात्रा–२०८३ लाई सुन्दरहरैंचामा भव्य स्वागत गर्दै धार्मिक आस्था, सामाजिक सद्भाव र एकताको सन्देश प्रवाह गरिने भएको छ ।

रथयात्रालाई व्यवस्थित बनाउने उद्देश्यले आवश्यक तयारी तथा समन्वयबारे हिजो विराटचोकस्थित कालीखोला मन्दिरमा छलफल गरिएको छ । कात्तिक ३० गतेसम्म सञ्चालन हुने सो रथयात्रा कात्तिक १४ गते शनिबार सुन्दरहरैंचा आइपुग्ने कार्यक्रम रहेको छ ।

रथयात्रालाई व्यवस्थित र भव्य रूपमा स्वागत गर्दै सफल बनाउन सुन्दरहरैंचा नगर कार्यसमितिले बुधबार विभिन्न सरोकारवाला पक्षसँग छलफल गरेको हो ।
छलफलमा राष्ट्रव्यापी मेची–महाकाली मुक्तिनाथ रथ यात्रा–२०८३ सुन्दरहरैंचा नगर कार्यसमितिका संयोजक नारायण कार्की र सचिव परमात्मा ओझाले आफ्ना भनाइ राख्नुभएको थियो ।

सो बैठकमा रथ यात्राको स्वागत, व्यवस्थापन तथा नगरपालिका, सामाजिक सङ्घ–संस्था, धार्मिक तथा भजन सञ्जाल, शैक्षिक प्रतिष्ठान, राजनीतिक दल, स्थानीय क्लब र ज्येष्ठ नागरिक समाजलगायतका पक्षबीच समन्वय र सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।