इटहरी ।  बंगालको खाडीमा विकसित भएको चक्रवात ‘अर्नब’ को प्रभावका कारण नेपालका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षा हुन सक्ने भन्दै जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

हाल भारतको आन्ध्र प्रदेश र यानम आसपासको तटीय क्षेत्रबाट जमिनतर्फ प्रवेश गरिरहेको उक्त चक्रवात कमजोर बन्दै नेपाल नजिकको भारतीय भूभागसम्म आइपुग्ने भएकाले आगामी शनिबारसम्म मौसम प्रतिकूल रहने पूर्वानुमान गरिएको छ ।

मौसमविद्का अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीसहित कर्णाली तथा सुदूरपश्चिमका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना छ । केही स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने र कर्णाली तथा सुदूरपश्चिममा मेघगर्जन, चट्याङ र असिनापानीको समेत जोखिम रहेको जनाइएको छ ।

कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ । अन्य विभिन्न क्षेत्रमा पनि अरेन्ज अलर्ट जारी गर्दै सतर्क रहन आग्रह गरिएको छ ।

आगामी केही दिन अनावश्यक यात्रा नगर्न मौसमसम्बन्धी सूचनामा ध्यान दिन र बाढी, पहिरो तथा चट्याङको जोखिमबाट सुरक्षित रहन आग्रह गरिएको छ ।

विभिन्न स्थानीय तह र सुरक्षा निकायलगायत सरोकारवाला निकायले पनि सतर्कता सूचना जारी गरेका छन् ।