काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को असरका कारण आज दिनभरि हल्कादेखि मध्यम वर्षा हुने र केही ठाउँमा भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान छ ।

हिजो कोशी प्रदेशमा हल्का वर्षा भएको थियो । काठमाडौं उपत्यकामा पनि पानी छिट्याएको थियो । तर आज भने पानीको मात्रा थप बढ्ने र धेरै क्षेत्रमा फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज अपराह्नदेखि रातिसम्म कोशी र बागमतीका धेरै ठाउँमा भारी वर्षाको सम्भावना छ । यसको असर शनिबारदेखि क्रमशः कमजोर बन्दै जाने पूर्वानुमान छ ।

उच्च हिमाली भेगमा हिमपात र तराई–पहाडमा वर्षा गराउने भएकाले उच्च सतर्कताका साथ रहन सबैलाई सरकारले अनुरोध पनि गरेको छ । हिमालदेखि तराईसम्मै प्रभाव देखिने भन्दै सरकारले सुरक्षा अंगहरुलाई हाई अलर्टमा राखेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै हावाहुरी, चट्याङ, हिउँआँधीसहित ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै देशभरका हिमाली र उच्च पहाडी भेगमा पर्वतारोहण तथा पदयात्रा नगर्न भनेको छ । यदि ट्रेकिङमा गइसकेको भए सुरक्षित ठाउँमा बस्न र किसानहरुलाई यही कात्तिक १४ गतेसम्म धान नकाट्न पनि सुझाव दिइएको छ ।