इटहरी । सोमबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३२.६५ अंकले घटेर २६५७.५० विन्दुमा अडिएको छ । 

नेप्सेमा सूचीकृत ३४३ कम्पनीको १ करोड ९८ लाख २२  हजार ३९२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १८ करोड ३७ लाख १३ हजार ४७ रुपैयाँको शेयर कारोबार भएको छ ।

सबै समूह राताम्य हुँदा सर्वाधिक घट्नेमा विकास बैंक समूह १.८८ प्रतिशतले घटेको छ ।  बैंकिङ समूह १.०७ प्रतिशत, फाइनान्स समूह १.५३ प्रतिशत, होटल तथा पर्यटन समूह ०.६३ प्रतिशत, हाइड्रो समूह १.०८ प्रतिशत, लगानी समूह १.४२ प्रतिशत, जीवन बीमा समूह १.४७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.९० प्रतिशत, माइक्रोफाइनान्सको १.१६ प्रतिशत, म्युचुअल फण्ड समूह ०.७३ प्रतिशत, निर्जीवन बीमा समूह १.७२ प्रतिशत, व्यापार समूह ०.८६ प्रतिशत र अन्य समूह १.६१ प्रतिशतले घटेको छ ।  

सूचक घटेको बजारमा सर्वाधिक कमाउने कम्पनीमा बेनी हाइड्रो रहेको छ । यो कम्पनीको सेयरभाउ १३.५८ प्रतिशतले बढेको छ । मकर जितुमाया सुरी हाइड्रोको ८.७७ प्रतिशत, मन्दाकिनी हाइड्रोको ५.४७ प्रतिशत, एनआइसी एशिया बैंकको ३.०२ प्रतिशत, बुटवल पावरको २.४८ प्रतिशत, युनिलिभर नेपालको २.३९ प्रतिशत शेयरमूल्य बढेको छ ।  

सानिमा लार्ज क्याप फण्डको मूल्य सर्वाधिक अर्थात् ४.८६ प्रतिशत घटेको छ । झापा इनर्जीको ४.११ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ४.०८ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ३.८३ प्रतिशत, माउन्ट एभरेष्ट पावरको ३.५६ प्रतिशत शेयरमूल्य घटेको छ ।  

घलेम्दी हाइड्रोपावर उच्च कारोबार गर्ने कम्पनीमा परेको छ । सो कम्पनीको ३७ करोड ६३ लाख ७७ हजार ४५१ रुपैयाँको शेयर किनबेच भएको छ । 

ग्लोबल आईएमई बैंक, कुमारी बैंक, लुम्बिनी विकास बैंक र मकर जितुमाया सुरी हाइड्रोपावर उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् । 

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब ७४ अर्ब ५२ करोड ५ लाख ८३ हजार ३ रुपैयाँ कायम भएको छ ।