इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोल पम्प नजिक हिजो राति पौने १२ बजे भएको ट्रकको टक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०४ ००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
सो दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उद्धार गरी उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो । अस्पतालका चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए ।
मृतक दुवै जनाको पहिचान खुल्न सकेको छैन ।
दुर्घटनापछि ट्रक चालक फरार रहेकाले उनको खोजी हुनुका साथै थप अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।

















