बिर्तामोडः धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेका छन् । वर्षभरि धानखेती गर्दा मुस्किलले ५० हजार रुपैयाँ आम्दानी हुने जमिनमा व्यावसायिक फूलखेती गरेर १० देखि १२ लाख रुपैयाँसम्मको कारोबार गर्ने लक्ष्यसहित झापाको बुद्धशान्तिका तीन किसान जुटेका छन् ।
बुद्धशान्ति गाउँपालिका–३ दुइरिङ्गेका विनोद रिजाल, गुणराज न्यौपाने र वीरबल बानियाँले सामूहिक रूपमा १० कट्ठा जमिनमा सयपत्रीखेती गरेका हुन् । ‘कृषि कम्पास’ समूह गठन गरेर शुरु गरिएको उनीहरूको यो प्रयास परम्परागत खेतीको विकल्प खोजिरहेका किसानका लागि नयाँ सम्भावनाका रूपमा देखिएको छ ।
समूहले १० कट्ठा जमिनमा सात हजारभन्दा बढी सयपत्रीका बिरुवा रोपेको छ । खेती सुरु गर्दा ५ लाख ५० हजार रुपैयाँ लगानी गरेका उनीहरूले यसबाट करिब १० हजार माला उत्पादन हुने अपेक्षा गरेका छन् । उत्पादित माला बिक्रीबाट १० देखि १२ लाख रुपैयाँसम्म आम्दानी हुने उनीहरूको अनुमान छ ।समूहका सदस्य गुणराज न्यौपानेका अनुसार सोही जमिनमा धानखेती गर्दा करिब ३० मन धान उत्पादन हुन्थ्यो । त्यसको बजार मूल्य करिब ५० हजार रुपैयाँ हुन्थ्यो । धानखेतीबाट हुने आम्दानी र फूलखेतीको सम्भावित कारोबार तुलना गर्दा धेरै फरक देखिएपछि उनीहरूले वैकल्पिक खेती रोजेका हुन् ।
उनका अनुसार फूलखेतीमा बजारको सम्भावना पनि राम्रो छ । एउटा मालाको मूल्य १०० रुपैयाँदेखि १५० रुपैयाँसम्म पर्ने भएकाले उत्पादन बिक्री गर्न सके अपेक्षित आम्दानी लिन सकिने उनको विश्वास छ ।
















