इटहरी । हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज तराई भेग, उपत्यका तथा खोँचमा हुस्सु तथा कुहिरो लागेको छ भने बाँकी भागमा मुख्यतया मौसम सफा छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी भागमा आंशिक बदली हुनेछ भने तराईमा मौसम सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति हिमाली तथा पहाडी भागमा आंशिक बदली हुने छ भने तराईमा मौसम  सफा रहनेछ । 

हिमाली भूभागका साथै कोशी र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।