काठमाडौं । साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । बिहीबार कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले शीर्ष चारमा स्थान सुरक्षित गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।
यो जीतसँगै लुम्बिनीले ६ खेलबाट ९ अंक जोडेको छ । ऊ अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लिग चरणको एक खेल बाँकी रहँदै लुम्बिनीले प्लेअफमा स्थान पक्का गरेको हो ।
१०६ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले सुरुवात भने राम्रो गर्न सकेन । मार्क वाटले दोस्रो ओभरमा ओपनर आसिफ शेखलाई १ रनमा एलबीडब्लू आउट गरे । चौथो ओभरको अन्तिम बलमा वाटले कप्तान रोहित पौडेललाई पनि १ रनमै पवेलियन फर्काए ।
रोहित आउट हुँदा लुम्बिनीले १४ रन बनाएको थियो । त्यसको तीन बलपछि सन्दीप जोरालाई पवन सर्राफले ४ रनमा आउट गरेपछि लुम्बिनी १९ रनमा तीन विकेट गुमाउने अवस्थामा पुगेको थियो ।
त्यसपछि डार्सी सर्ट र निरोशन डिकवेलाले चौथो विकेटका लागि ४१ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरे । डिकवेला १३ बलमा १६ रन बनाएर नवौँ ओभरको पहिलो बलमा आउट भए। उनलाई मार्क वाटले बिपिन शर्माको हातबाट क्याच गराए । चौथो विकेट गुमाउँदा लुम्बिनीले ६० रन बनाएको थियो ।
पाँचौँ विकेटका लागि सर्टअ र दिलीप नाथले १९ रनको साझेदारी गरे । ३४ बलमा ६ चौका र १ छक्कासहित ४६ रन बनाएका सर्ट १४ औँ ओभरको चौथो बलमा हुसेन तलतको बलमा आउट भए । उनी अर्धशतकको नजिक पुग्न नसके पनि लुम्बिनीका लागि सर्वाधिक रन बनाउने ब्याटर बने ।
त्यसपछि दिलीप नाथले जिम्मेवारी सम्हाले । उनले शमीम हुसेनसँग छैटौँ विकेटका लागि १८ रन जोडे । शमीम ५ रन बनाएर १६ औँ ओभरको अन्तिम बलमा आउट भए । त्यसपछि नाथले रुबेन ट्रम्पलम्यानसँग अविजित १० रनको साझेदारी गर्दै टोलीलाई जीत दिलाए । नाथले २७ बलमा ४ चौकासहित अविजित २८ रन बनाए । ट्रम्पलम्यान २ रनमा अविजित रहे ।
लुम्बिनीको जीतमा डार्सी सर्टले ४६ र दिलीप नाथले २८ रनको योगदान दिए ।
कर्णालीका बलर मार्क वाटले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । पवन सर्राफ र हुसेन तलतले समान १ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली १९.२ ओभरमा १०५ रनमा अलआउट भएको थियो । उसका लागि सोमपाल कामीले २८ र हुसेन तलतले २४ रन बनाएका थिए ।
लुम्बिनीका बलरमध्ये डार्शी सर्ट, अभिशेष गौतम, किशोर महतो र रोहित पौडेलले समान २ विकेट लिएका थिए ।

















