प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण क्रममा नेपाल र भारतले आगामी दिनमा द्विपक्षीय सहकार्य विस्तार गर्न १० वटा प्रमुख क्षेत्र समेटिएको संयुक्त दृष्टिपत्र (भिजन पेपर) सार्वजनिक गरेका छन्।

सोमबार नयाँदिल्लीमा प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको वार्तापछि 'विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनर्परिकल्पना' शीर्षकको संयुक्त दृष्टिपत्र सार्वजनिक गरिएको हो।

यसमा आर्थिक तथा विकास साझेदारी, भौतिक र डिजिटल सम्पर्क, ऊर्जा तथा जलस्रोत, सुशासन, प्रविधि, शिक्षा, खेलकुद, संस्कृति तथा पर्यटन, स्वास्थ्य र कृषिलाई सहकार्यका १० प्रमुख क्षेत्रका रूपमा समेटिएको छ।

दुई देशबीच सन् १९५० को शान्ति तथा मैत्री सन्धिसहित विद्यमान सम्झौताहरू आपसी सहमतिमा पुनरवलोकन गर्न सकिने उल्लेख छ। सीमा, जलस्रोत, ऊर्जा र व्यापारसँग सम्बन्धित समाधान हुन बाँकी विषय आपसी संवादबाट टुंग्याउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

दृष्टिपत्रमा व्यापार तथा लगानीसम्बन्धी सम्झौता पुनरवलोकन, नयाँ पारवहन तथा हवाई मार्ग खोल्ने, पूर्व–पश्चिम रेलमार्ग विस्तार गर्ने, नेपाली भाषाका लागि एआई मोडल विकास गर्ने र नेपालमा आइआइटी क्याम्पस स्थापना गर्ने लगायतका योजना छन्।

नेपालमा राष्ट्रिय क्रिकेट प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने, भारतको सहयोगमा चितवनमा कृषि–औद्योगिक पार्क बनाउने र स्वास्थ्य तथा शिक्षा क्षेत्रमा नयाँ संस्था स्थापना गर्ने विषय पनि समेटिएका छन्।

यी योजना कार्यान्वयनको अनुगमन गर्न नेपालका परराष्ट्र सचिव र भारतीय राजदूत नेतृत्वको उच्चस्तरीय अनुगमन समूहलाई सक्रिय बनाइनेछ। उक्त समूहले कम्तिमा प्रत्येक छ महिनामा बैठक बसेर प्रगति समीक्षा गर्नेछ।

संयुक्त दृष्टिपत्रको पूर्ण नेपाली अनुवाद :

विकसित भारत र समुन्नत नेपालः साझेदारीको पुनर्परिकल्पना


भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीको निमन्त्रणामा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले सन् २०२६ नोभेम्बर २२ देखि २३ सम्म भारतको राजकीय भ्रमण गर्नुभयो। दुवै प्रधानमन्त्रीले नयाँदिल्लीमा सौहार्दपूर्ण, सार्थक तथा भविष्यमुखी वार्ता गर्नुभयो र द्विपक्षीय सम्बन्धको समग्र समीक्षा गर्नुभयो।


दुवै नेताले भारत र नेपालबीचको प्राचीन सभ्यतागत सम्बन्ध बहुआयामिक साझेदारीका रूपमा विकास भएको स्वीकार गर्नुभयो। यो साझेदारीलाई आपसी सम्मान र लाभका सिद्धान्तको पालनाका साथै दुई देशका जनताबीचको गहिरो सम्बन्धले सुदृढ बनाएको छ।


नेपालले सन् २०२६ अगस्टमा रसुवा–त्रिशूली नदी क्षेत्र तथा अन्य स्थानमा आएको बाढी र गेग्रान बहावपछि भारतले तत्काल उपलब्ध गराएको मानवीय सहायता तथा खोज र उद्धार सहयोगको प्रशंसा गर्‍यो। दुवै नेताले नेपालको पुनर्निर्माण प्रयासमा थप सहयोग उपलब्ध गराउने विषयमा निरन्तर संलग्न रहने सहमति गर्नुभयो।


दुवै नेताले द्विपक्षीय साझेदारीले वर्तमान राजनीतिक, आर्थिक र प्राविधिक वास्तविकतालाई प्रतिबिम्बित गर्नुपर्ने तथा अद्यावधिक र भविष्यमुखी कानुनी संरचनामा आधारित हुनुपर्नेमा सहमति जनाउनुभयो। यसअन्तर्गत सन् १९५० को शान्ति तथा मैत्री सन्धिसहित विद्यमान द्विपक्षीय सम्झौताहरू आपसी सहमतिका आधारमा पुनरवलोकन गर्न सकिनेछ।


जलस्रोत, ऊर्जा, व्यापार तथा वाणिज्य र सीमासँग सम्बन्धित विषयसहित समाधान हुन बाँकी सबै मुद्दाहरू आपसी छलफल र संवादमार्फत समाधान गरिनेछ।


भारत–नेपाल सम्बन्धलाई दुवै देशका जनताका लागि ठोस लाभ प्रदान गर्ने आधुनिक तथा परिणाममुखी साझेदारीमा रूपान्तरण गर्न दुवै नेताले यो ुसंयुक्त दृष्टिकोणु अपनाउनुभएको छ।


यो दृष्टिकोण विशेषगरी भारत र नेपालका युवासहित दुवै देशका जनताको आकांक्षामा केन्द्रित छ। यसले निम्न १० स्तम्भमा आधारित रहेर भविष्यको द्विपक्षीय साझेदारीका लागि मार्गचित्र प्रदान गर्नेछ।


१. व्यापक आर्थिक तथा विकास साझेदारी


भारतको राष्ट्रिय दृष्टिकोण ुविकसित भारत २०४७ु र नेपालको राष्ट्रिय आकांक्षा ुसमुन्नत नेपालु बीच धेरै पूरक पक्ष छन्। तिनको उपयोग गरी दुई देशबीचको व्यापक आर्थिक सम्बन्धलाई थप विस्तार गर्न सकिनेछ।


यसअन्तर्गत निम्न कार्यहरू समावेश हुनेछन्ः


१. दुई देशबीच थप व्यापक आर्थिक साझेदारीलाई सहजीकरण गर्न व्यापार तथा लगानीसम्बन्धी विद्यमान संरचना र सम्झौताहरू पुनरवलोकन गर्ने।


२. पहुँच सुधार गर्न र सम्पर्क सञ्जाल सुदृढ बनाउन नयाँ पारवहन सम्पर्क मार्ग तथा हवाई मार्गहरू खोल्ने।


३. उत्पादनमूलक तथा अन्य प्रशोधन उद्योगहरूको आपूर्ति शृंखलासँग सम्बन्ध विस्तार गर्न नेपाल–भारत सीमावर्ती क्षेत्रमा निर्यातमुखी उत्पादनका लागि सीमापार विशेष आर्थिक क्षेत्र तथा औद्योगिक पार्कहरू स्थापना गर्न सहकार्य गर्ने। साथै सूचना प्रविधि पार्कहरूको विकासमा पनि सहकार्य गर्ने।


४. लगानीकर्ताको विश्वास बढाउने र व्यवसाय सञ्चालनलाई सहज बनाउने व्यवस्थाहरू कार्यान्वयन गर्नेसहित नेपालका प्राथमिकताप्राप्त क्षेत्रमा भारतीय लगानी प्रोत्साहन गर्ने।


५. भारतले नेपाललाई १५ हजार करोड भारतीय रूपैयाँ ९२४ हजार करोड नेपाली रूपैयाँ० बराबरको विकास सहायता उपलब्ध गराउने। यसमा नेपालमा विपदपछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार आयोजनाहरूका लागि ३ हजार ५ सय करोड भारतीय रूपैयाँ (५ हजार ६ सय करोड नेपाली रूपैयाँ) अनुदान सहायता समावेश हुनेछ।


त्यस्तै, ऊर्जा क्षेत्रका आयोजनाहरूका लागि ११ हजार ५ सय करोड भारतीय रूपैयाँ (१८ हजार ४ सय करोड नेपाली रूपैयाँ) बराबरको भारतीय रूपैयाँमा आधारित ऋण सुविधा उपलब्ध गराइनेछ।


विकास सहायता उपलब्ध गराउने विशिष्ट आयोजना तथा त्यसका प्रक्रियाहरूलाई आपसी परामर्शबाट अन्तिम रूप दिइनेछ।


२. भौतिक तथा डिजिटल सम्पर्क सञ्जाल


सम्पर्क सञ्जाल आर्थिक सहकार्यलाई गहिरो बनाउने र जनस्तरको सम्बन्ध सुदृढ गर्ने प्रमुख माध्यम हो।


यस क्षेत्रमा भएको उल्लेखनीय प्रगतिलाई स्वीकार गर्दै दुवै नेताले भारतको अयोध्या र नेपालको जनकपुरबीच सीधा एक्सप्रेस रेल सेवाको शुभारम्भ तथा भारतको धार्चुला र नेपालको दार्चुलाबीच महाकाली नदीमाथि सवारीसाधन सञ्चालनयोग्य पुलको उद्घाटनको स्वागत गर्नुभयो।


उहाँहरूले निम्न कार्यहरूमा थप सहमति जनाउनुभयोः


१. नेपालको भैरहवा र भारतको सुनौलीमा निर्माणाधीन एकीकृत जाँच चौकीहरू तथा भारतको बनबासा र नेपालको दोधारा–चाँदनीमा नयाँ एकीकृत जाँच चौकीहरूको निर्माण कार्य तीव्र बनाउने।


२. जयनगर–बर्दिबास र जोगबनी–विराटनगर रेलमार्गका बाँकी अन्तिम खण्डहरूको काम शीघ्र सम्पन्न गर्ने।

३. रक्सौल–काठमाडौं रेल सम्पर्कको अन्तिम मार्ग निर्धारण सर्वेक्षण (एफएलएस) सम्पन्न भएको स्वागत गर्दै दुवै देशबीच एकअर्काको रेल सञ्जालसँग मिलेर सञ्चालन हुन सक्ने रेल सञ्जाल विकास गर्ने उद्देश्यले नेपालको पूर्व–पश्चिम रेलमार्ग निर्माणमा सहकार्य गर्ने। यसमा बर्दिबास–निजगढ खण्ड र वीरगन्ज–निजगढ रेल सम्पर्कलाई प्राथमिकता दिइनेछ।


४. नयाँ सवारीसाधन सञ्चालनयोग्य पुल र व्यापारिक नाकाहरूको विकासमार्फत नेपाल र भारतबीच सडक सम्पर्क थप विस्तार गर्ने।


५. भारतको सिलिगुडी र नेपालको झापालाई जोड्ने नयाँ पाइपलाइन निर्माणसहित सीमापार पेट्रोलियम आपूर्ति पूर्वाधार विस्तार गर्ने। साथै भारत र नेपालबीच ग्यास पाइपलाइन निर्माणको सम्भावना खोज्ने।

६. भारतको एकीकृत भुक्तानी प्रणाली (युपिआई) र नेपालको राष्ट्रिय भुक्तानी प्रणालीबीच स्थापित सम्पर्कलाई आधार बनाउँदै सीमापार खुद्रा भुक्तानी प्रणालीको कार्यान्वयन तीव्र बनाउने।

७. भारतको पिएम गति शक्तिजस्ता माध्यममार्फत एकीकृत पूर्वाधार योजना तथा सम्पर्क सञ्जाल विकासमा सहकार्य गर्ने। नेपालले आफ्नो भौगोलिक तथा विकास प्राथमिकता अनुसार यस्तो प्रणाली अपनाउने विषयमा विचार गर्न सक्नेछ।

८. नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय सीमा खुला, सुरक्षित तथा सुव्यवस्थित राख्ने र सीमापार अपराध तथा गैरकानुनी गतिविधिविरूद्धको सहकार्य सुदृढ गर्ने।

३. ऊर्जा, जलस्रोत तथा जलवायु परिवर्तनका असर सामना गर्ने क्षमता

ऊर्जा, जलस्रोत तथा जलवायु परिवर्तनका असर सामना गर्ने क्षमताका क्षेत्रमा भारत र नेपालबीच सहकार्य विस्तार गर्ने अपार सम्भावना रहेको स्वीकार गर्दै दुवै पक्षले संस्थागत सहकार्य सुदृढ गर्ने, आपसी लाभमा आधारित साझेदारी प्रवर्द्धन गर्ने तथा दिगो, उत्थानशील र समावेशी विकासका लागि संयुक्त प्रयास अघि बढाउने सहमति गरे।

यसका लागि

१. ऊर्जा क्षेत्र सहकार्यसम्बन्धी भारत–नेपाल संयुक्त दृष्टिपत्र अनुसार भारतले नेपालको जलविद्युत तथा विद्युत प्रसारण पूर्वाधारमा थप लगानी प्रोत्साहन गर्नेछ। नेपालले यस्ता लगानीका लागि अनुकूल तथा आपसी लाभमा आधारित संरचनासहित आवश्यक सहयोग र सहजीकरण उपलब्ध गराउनेछ।


दुवै देशका सम्बन्धित निकायहरूले आपसी लाभ र बजारको मागका आधारमा विद्युत व्यापार थप बढाउने सम्भावना खोज्ने छन्।

२. जलस्रोतको आपसी लाभका लागि उपयोग गर्न तथा बाढीबाट हुने प्रतिकूल प्रभाव न्यूनीकरण गर्न पञ्चेश्वर, सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनासहित सञ्चालनमा रहेका तथा प्रस्तावित जलविद्युत र बहुउद्देश्यीय आयोजनाहरूको कार्यान्वयनसम्बन्धी काम तीव्र बनाउने।

३. जनजीवन, जीविकोपार्जन तथा पूर्वाधारको संरक्षणका लागि विपद जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणाली तथा विपदपछिको पुनर्स्थापनामा सक्रिय साझेदारी गर्ने।

४. जल तथा मौसमसम्बन्धी तथ्यांक, हिमतालको अनुगमन तथा पूर्वसूचनासम्बन्धी जानकारी वास्तविक समयमा दुवैतर्फ आदानप्रदान गर्ने प्रणालीलाई संस्थागत बनाउने। दुवै देशका सम्बन्धित निकायहरूबीच संयुक्त मानवीय सहायता तथा विपद राहत अभ्यास, क्षमता अभिवृद्धि, तालिम तथा मानवीय सहयोगमार्फत सहकार्य विस्तार गर्ने।