बिर्तामोडः आर्थिक अभाव र भौगोलिक विकटताका कारण शिक्षाको अवसरबाट वञ्चित बालबालिकाको संरक्षण र भविष्य निर्माणका लागि झापाको कनकाई नगरपालिका–६ मनासपुरमा सञ्चालित राधिका फाउन्डेसनले श्रीमद्भागवत धनधान्याञ्चल महायज्ञ आयोजना गर्ने भएको छ । महायज्ञलाई सफल बनाउन बिर्तामोडका उद्योगी तथा व्यवसायीले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

मंसिर १३ देखि २१ गतेसम्म सञ्चालन हुने महायज्ञबाट संकलित सहयोग विपन्न तथा असहाय बालबालिकाको खाना, नाना, छाना र शिक्षामा खर्च गर्ने फाउन्डेसनको लक्ष्य छ । पहाडी तथा दुर्गम क्षेत्रका आर्थिक रूपमा कमजोर र शिक्षाको पहुँचबाट टाढा रहेका बालबालिकालाई आश्रममा राखेर उचित संस्कारसहित आधुनिक शिक्षा प्रदान गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको फाउन्डेसनकी संरक्षक राधिका दासीले बताउनुभयो ।

महायज्ञबारे जानकारी दिन आइतबार बिर्तामोड उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा संघका अध्यक्ष राजु न्यौपाने र पूर्वअध्यक्ष वेदप्रकाश अग्रवालले व्यवसायीका तर्फबाट सहयोग जुटाउने प्रतिबद्धता जनाउनुभएको थियो ।

महायज्ञको धार्मिक कार्यक्रम मंसिर १२ गते कलश शोभायात्रासहित सुरु हुनेछ । मंसिर १३ देखि २१ गतेसम्म नियमित रूपमा श्रीमद्भागवत कथा वाचन र धार्मिक अनुष्ठान सञ्चालन गरिनेछ । प्रत्येक दिन बिहान ७ बजेदेखि पाठपारायण र ११ बजेदेखि कथावाचन हुने जनाइएको छ ।

महायज्ञमा नेपालका ३५ भन्दा बढी जिल्लाबाट भक्तजन तथा धर्मानुरागी सहभागी हुने अपेक्षा गरिएको छ ।