इटहरी । बालविवाह, कम उमेरमा हुने तथा जबर्जस्ती गरिने विवाह उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस–२०२६ को अवसरमा सुनसरीको इटहरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार इटहरीस्थित होटल इन टुरिस्ट प्यालेसमा आयोजित कार्यक्रममा बालविवाह न्यूनीकरण, बालअधिकार संरक्षण तथा बालविवाहमुक्त समाज निर्माणका लागि सरोकारवाला निकायहरूको भूमिका र जिम्मेवारीका विषयमा छलफल गरिएको थियो ।
इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीताकुमारी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता फरवार्डका कार्यक्रम संयोजक गोविन्द चौधरीले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन दिवाकर सिंहले गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषद्अन्तर्गत कोशी प्रदेशको बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) का समन्वय अधिकृत सुमन अधिकारीले विशेष प्रस्तुति दिनुभएको थियो । उहाँले बालबालिकाको अधिकार संरक्षण, बालविवाह तथा जबर्जस्ती विवाहका कारण र त्यसले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा तथा भविष्यमा पार्ने असरबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा इटहरी र दुहबीका बालकल्याण अधिकारीहरू, जिल्ला प्रहरी कार्यालय सुनसरी अन्तर्गत बालबालिका खोजतलास केन्द्रका प्रतिनिधिहरू, कोशी प्रदेश प्रहरी कार्यालय धरानअन्तर्गत बालबालिका खोजतलास केन्द्रका प्रतिनिधिहरू, स्थानीय संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।


















