शुक्रबारेः सुन्दरहरैँचाको शुक्रबारे युवा क्लबको आयोजनामा सञ्चालित तेस्रो वडा अध्यक्ष कप यु–१५ फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएका खेलमा हरैँचा मोडेल स्कुल र क्वेष्ट स्कुल विजयी भएका छन् ।
हिजो दोस्रो दिन भएको पहिलो खेलमा हरैँचा मोडेल स्कुलले जनता माध्यमिक विद्यालय, पचामलाई ४–१ गोल अन्तरले पराजित गर्दै जीत निकालेको हो । हरैंचा मोडलले मध्यान्तरअघि नै तीन गोल लगाएको थियो । मध्यान्तरपछि उसले थप १ गोल गरेको थियो भने जनता माविले सान्त्वना गोल गरेको थियो ।
दोस्रो खेलमा क्वेष्ट स्कुलले लभ्ली एन्जल्स स्कुल मृगौलियालाई १–० गोल अन्तरले पराजित गरेको छ । मध्यान्तरअघि कुनै गोल हुन नसके पनि मध्यान्तरपछि क्वेष्ट स्कुलले निर्णायक गोल गरेको थियो ।
पहिलो खेलमा हरैँचा मोडेलका खेलाडी रोनिस मण्डल र दोस्रो खेलमा क्वेष्ट स्कुलका युनिक खड्का म्यान अफ द म्याच घोषित भए । उनीहरु दुवैले जनही नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
समाजसेवी मोहनलाल श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको हिजोको प्रतियोगितामा सम्बोधन गर्दै श्रेष्ठले शुक्रबारे खेलमैदान बनाउन स्थानीयले गरेको मिहिनेतको स्मरण गर्नुभएको थियो ।
प्रतियोगिताअन्तर्गत आज श्री इन्द्रपुर स्कुल र बालप्रतिभा स्कुलबीच पहिलो खेल हुनेछ । सफल सिद्धार्थ स्कुल र बाल सदन एकेडेमीबीच दोस्रो खेल हुने आयोजकले जनाएको छ ।
मङ्सिर १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टिमले ५१ हजार र दोस्रो हुनेले ३१ हजार नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
शुक्रबार भएको उद्घाटन खेलमा माविले सिद्धार्थ सेकेण्डरी स्कुललाई २–१ गोलले पराजित गरेको थियो ।


















