अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का नवनियुक्त प्रमुखहरुलाई स्वागत गर्दै पूँजी बजार सुधारका लागि विभिन्न निर्देशन दिएको छ । मन्त्रालयले खुला प्रतिस्पर्धाबाट बोर्डको अध्यक्षमा रमेश हमाल र नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको थियो ।
बिहीबार अध्यक्ष हमाल र प्रमुख कार्यकारी अधिकृत कार्कीको स्वागत कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारको सुधारका लागि दुवै निकायलाई ११ बुँदे निर्देशन दिएका हुन् । खुला प्रतिस्पर्धाबाट निर्वाचित नयाँ नेतृत्वलाई कसैको दबाब वा प्रभावमा नआउन निर्देशन दिइएको छ ।
मन्त्री शर्माले उत्पादन र पूर्वाधारमा लगानी गर्न आवश्यक पर्ने रकम पुँजी बजारबाट आउने वातावरण बनाउन नवनियुक्त प्रमुखहरुलाई निर्देशन दिए । पुँजी बजारका समस्या समाधान र जनताको लगानीको संरक्षण गर्ने मुख्य उद्देश्यका साथ दुवै निकायमा नयाँ नेतृत्व चयन गरिएको उनले स्पष्ट गरे ।
अर्थमन्त्री शर्माले पूँजीबजारमा लगानी गरेको रकम ठूला आयोजनामा खर्च गर्नुपर्ने बताउनुभयो । ‘जनताको पैसा पूँजीबजारमा आएको छ, अब यो पैसा पूँजी निर्माणमा प्रयोग गर्न सकिन्छ, तपाईले (सेबोन र नेप्सेका पदाधिकारी) ठूला आयोजनामा लगानी गर्न ध्यान दिनुपर्छ,’ उनले भने । पुँजी बजारले राष्ट्रिय महत्वका आयोजनाहरूमा लगानी कसरी व्यवस्थापन गर्ने भन्नेमा केन्द्रित हुनुपर्छ ।
शर्माले पुँजी बजारमा राजनीति नगर्न पनि आग्रह गरे । ‘पूँजीबजारमा राजनीति गर्नु हुँदैन, यसलाई स्वायत्त ढंगले चल्न दिनुपर्छ ।” उनले भने, ‘कुनै मन्त्रीको राय, लत वा निर्देशनमा बजार चलाउन हुँदैन ।
मन्त्री शर्माले आफूले पदभार ग्रहण गरेलगत्तै पूँजीबजारका समस्या समाधान गर्न प्राथमिकता दिएको स्मरण गराउँदै धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जमा सुधारको कामको थालनी गर्दा नयाँ नेतृत्व चयन गरिएको बताए । उनले नयाँ नेतृत्वले देशको पुँजी बजारलाई सुधार गरी नयाँ स्थानमा लैजाने विश्वास व्यक्त गरे ।
उनले आगामी दिनमा पूँजीबजारमा इन्साइडर ट्रेडिङ, पम्प तथा डम्प योजना, सर्कुलर ट्रेडिङजस्ता गैरकानुनी गतिविधि नदेखिन निर्देशन दिए । ‘म मन्त्रालयमा नआएसम्म सर्कुलर ट्रेडिङ, पम्प तथा डम्प योजना, इन्साइडर ट्रेडिङजस्ता गैरकानूनी कामको कहीँ पनि स्वीकृति थिएन,’ शर्माले भने । "म यहाँ आएदेखि हामीले यो कुप्रथाको बारेमा कुरा गरेका छौं र यसलाई छानबिन गरी नियन्त्रणमा ल्याइएको छ, त्यसैले आगामी दिनहरूमा पनि यस्ता गैरकानुनी गतिविधिलाई अनुमति दिइने छैन।"
उनले साना लगानीकर्तालाई संरक्षण गरी पूँजीबजारमा प्रवेश गर्न दिनुपर्ने, ओटीसी बजारलाई प्राथमिकता दिनुपर्ने, नेप्से र बोर्डबीच समन्वय गर्नुपर्ने, कम्पनीलाई नेप्सेमा सूचीकृत गर्न सहजीकरण गर्नुपर्ने, ब्रोकर क्षमता अभिवृद्धि गर्नुपर्ने, सफ्टवेयर क्षमता विकास गर्नुपर्छ। शर्माले टिएमएस मार्फत थप सेवा सञ्चालन गर्न पनि निर्देशन दिए ।
सो अवसरमा अर्थसचिव मधुकुमार मरासिनीले नयाँ नेतृत्वले पुँजी बजारलाई सकारात्मक दिशामा लैजानेमा आफू विश्वस्त रहेको बताए । त्यस्तै राजस्व सचिव कृष्णहरि पुस्करले शेयर बजारमा उल्लेख्य सुधार आएको र अर्थ मन्त्रालयको निर्देशनमा पारदर्शी रुपमा काम भइरहेको बताए ।
सेबोनका नवनियुक्त अध्यक्ष रमेश हमालले लगानीकर्तालाई वित्तीय साक्षरताको क्षेत्रमा धेरै काम गर्ने बताए । उनले साक्षरताको कमीका कारण लगानीकर्ता हल्लाको पछि लाग्ने वा अफवाह फैलाउने काममा लाग्ने गरेको बताए । उनले ठूला बजार निर्माताको पनि अभाव रहेको बताए ।
नेप्सेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले लगानीकर्ताको कुनै गुनासो नहुने गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
अर्थमन्त्री जनार्दन शर्माले दिएका ११ प्रमुख निर्देशन :
१) छिमेकी मुलुक भारत, चीन, पाकिस्तान, बंगलादेश, अमेरिका, अमेरिकालगायत मुलुकमा पूँजीबजार कसरी सञ्चालन भएको छ भन्ने अध्ययन गरी कोभिड–१९ को महामारीका बीच पूँजी बजारलाई लगानीकर्तामैत्री बनाएर नेपालको पुँजी बजारलाई अगाडि बढाउने ।
२) पुँजी बजारले कसरी लगानीकर्तालाई उच्चतम प्रतिफल दिन सक्छ भन्ने अध्ययन गर्ने र राष्ट्रिय महत्वका आयोजनाहरूमा आवश्यक लगानी व्यवस्थापन गर्ने । ठूला पूर्वाधार, उत्पादन र पूँजी निर्माणका लागि पुँजी जुटाउने व्यवस्था मिलाउने ।
३) हाल सञ्चालनमा रहेको TMS सुधार गर्ने ।
४) साना कम्पनी र स्टार्टअप कम्पनीलाई पूँजीबजारमा प्रवेश गर्ने बाटो खुला गर्ने । विशेषगरी एसएमई र ओटिसी बजारको विकास गरी उद्यम पुँजीका आधारमा साना कम्पनीको बजार विकास गर्ने ।
५) सूचीकृत नभएका र आईपीओका लागि योग्य नभएका विभिन्न पब्लिक लिमिटेड कम्पनीहरूको ओटीसी बजारको विकास र सेयर कारोबार गर्ने व्यवस्था मिलाउने । प्रणाली सुधार गर्न ताकि आगामी दिनहरूमा इन्ट्राडे ट्रेडिङ र सर्ट सेलिंग लागु गर्न सकियोस ।
६) स्वचालित कार्य सुरु गर्ने । प्रारम्भिक लिलामीमा बिक्री हुन नसकेका शेयर देशभरका सबै लगानीकर्तालाई खरिद गर्ने व्यवस्था मिलाउने ।
७) 'सब-ब्रोकर' मोडेल, डेरिभेटिभ उपकरण व्यापार, र वस्तु विनिमय विकास गर्ने।
८) भारतको BSE SENSEX, US को Dow Jones र NASDAQ, आदि जस्ता अर्थतन्त्रको प्रतिनिधित्व गर्ने नयाँ वैज्ञानिक रूपले निर्माण गरिएको सूचक तयार गर्ने। ठूलो क्याप इन्डेक्स, मिड-क्याप इन्डेक्स बनाएर बजार सूचकलाई थप संरचित बनाउन, र बजार क्यापको आधारमा सानो क्याप सूचकांकको विकास गर्ने ।
९) उत्पादनशील कम्पनीहरूलाई सेयर बजारमा ल्याउन बुक बिल्डिङ प्रणाली लागू गर्ने, इन्डेक्स फण्ड र क्रेडिट फण्डको स्थापना गर्ने।
१०)मार्जिन लेन्डिंग लागू गर्ने । दलाल कम्पनीहरु र मर्चेन्ट बैंकिङ संस्थाहरु मार्फत मार्जिन ऋण प्रक्रिया अगाडि बढाउने।
११) सर्कुलर ट्रेडिङ, पम्प र डम्प योजनाहरू, र इनसाइडर ट्रेडिंग हटाउने। पूँजी बजार, पुँजी बजार साक्षरता, तालिम केन्द्रहरू बारे जनचेतना जगाउने ।


















