काठमाडौं । सुनको भाउ प्रतितोला १ लाख ३ हजार पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (आइतबार) १ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज (सोमबार) तोलामा ११०० रुपैयाँ बढेर प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ कायँम भएको छ।यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा भाउ बढेपछि स्थानीय बजारमा पनि सुन अकासिएको हो। युक्रेनमाथि रुसको आक्रमणलाई लिएर अमेरिका, बेलायतलगायत राष्ट्रसँग रुसको विवाद बढ्दा सुनको माग र मूल्य बढ्न गएको हो।