विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयको भवनबाट खसेर एक छात्रा गम्भीर घाइते भएकी छन्।
प्रहरीका अनुसार विद्यालयको तीन तलामाथिबाट खसेर बुधबार बिहान कक्षा १० मा अध्ययनरत १६ वर्षीया युनिका चौधरी घाइते भएकी हुन्। उनी सप्तरीको बोदेवरसाइन गाउँपालिका–३ घर भई सुन्दरहरैँचा–१२ स्थित भोला खतिवडाको घरमा डेरा गरि बस्दै आएकी थिइन् ।
विद्यालय भवनको तीन तलामाथिबाट बिहान ६ः१५ बजेतिर आफैँ हामफालेर घाइते भएको जानकारी प्रहरीलाई विद्यालयले दिएको थियो।
घाइते छात्रालाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा राखिएको छ। खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेकी उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्। अनुसन्धानपछि मात्रै छात्रा आफैँले हामफालेको हो कि अचानक घटना भएको हो भनेर यकिन हुने उनले बताए।


















