विराटनगर । विराटनगरबाट सशस्त्र प्रहरीले लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । 
 
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–४ खार्जीका १९ वर्षीय आशिष मण्डल र २० वर्षीय दिपेश मण्डल रहेका छन् । 

सशस्त्र प्रहरी बल बीओपी रानीको टोलीले विराटनगर–१६ हुलास मेटल चोकबाट उनीहरुलाई मंगलबार दिउँसो ३ बजेतिर पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट तीन किलो गाँजा बरामद भएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिएका छन् । 

प्लाष्टिकमा प्याक गरिएको गाँजा स ९ प ९६०६ नम्बरको मोटरसाइकलमा राखेर भारतको जोगवनी कटाउन खोज्दै गर्दा सशस्त्रले पक्राउ गरेको हो । 

पक्राउ परेकामध्ये आशिष मोटरसाइकल चालक हुन् । दिपेश पछाडि सवार थिए । सशस्त्रलाई देख्नासाथ उनीहरु फरार हुन खोजेपछि घेरा हालेर पक्राउ गर्दै मोटरसाइकल र गाँजासमेत नियन्त्रणमा लिइएको एसपी लामिछानेले बताए । उनका अनुसार नेपालबाट भारततिर लागुऔषध गाँजा ‘सप्लाई’गर्ने धन्दामा लामो समयदेखि उनीहरु संलग्न रहँदै आएको पाइएको छ । 

पक्राउ गरि इलाका प्रहरी कार्यालय रानीमा राखिएका उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ।