मोरङ । उर्लाबारीको एक अस्पताल भवन उद्घाटनका क्रममा प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवको विरोध भएको छ।

नगरपालिका–३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको नयाँ ओपीडी भवन उद्घाटनका क्रममा आइतबार स्वास्थ्यमन्त्री यादवलाई केही युवा समूहले कालो झण्डा प्रदर्शन गरेका थिए।
 
भवन निर्माणका क्रममा अनियमितता भएको विरोधमा स्थानीय मंगलबारे युवा क्लबका पदाधिकारीहरुले मन्त्री यादवको विरोध गरेका हुन्। क्लबका अध्यक्ष पिपलराज गिरीसहित महासचिव रेशु कटवाल र तीन जना सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

विरोधपछि प्रहरी नियन्त्रणमा परेका युवालाई मन्त्री यादवले नै छाडिदिन आग्रह गरेका थिए। मन्त्री यादवले विवाद देखिएको विषयमा छानबिनका लागि अस्पताल व्यवस्थापन समितिलाई निर्देशन दिएको बताए।

यसअघि, क्लबले भवन उद्घाटनपूर्व निर्माणमा लागेको आम्दानी खर्च पारदर्शी बनाइनुपर्नेमा जोड दिँदै आएको थियो। क्लबले यसअघि अस्पताल प्रशासनसमक्ष भवन निर्माणलाई पारदर्शी बनाउन र आम्दानी खर्चको विवरण उपलब्ध गराउन ज्ञापन पत्रसमेत बुझाएको थियो।