विराटनगर । विराटनगरमा आज (शनिबार) राधाकृष्ण रथयात्रा निकालिँदैछ ।
विराटनगरमा प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीका भोलिपल्ट रथयात्रा निकाल्ने गरिन्छ । यसअघिका दुई वर्ष कोरोना महामारीका कारण खटयात्रा मात्रै निकालिएको थियो ।
राधाकृष्ण मन्दिर व्यवस्थापन तथा रथयात्रा आयोजक समितिले ५४औं रथयात्राको सबै तयारी पूरा भएको जनाएको छ ।
स्वास्थ्य मापदण्डको पालना गरेर मात्रै रथयात्रामा सहभागी हुन आह्वान गरिएको छ ।
तीनपैनीबाट निकालिने रथ यसअघि मेन रोडबाट ट्राफिक चोक, हिमालय रोड हुँदै कोशी लोकमार्ग प्रवेश गराएर बरगाछीबाट मन्दिरतर्फ लैजाने गरिएको थियो । सौन्दर्यीकरणको कामले हिमालय रोडमा अवरोध भएका कारण रथलाई रोडशेष चोकबाट घुमाउने तयारी छ ।
विक्रम संवत् १९८९ सालबाट शुरू भएको खटयात्रालाई पछि गएर रथयात्रामा परिणत गरिएको हो । २०२५ सालदेखि विराटनगरमा रथयात्रा गरिँदै आएको छ ।
रथयात्राका लागि २२ फिट लम्बाई, १४ फिट चौडाई र १८ फिट उचाईको रथ तयार पारिएको छ । विराटनगरको रथयात्रालाई दक्षिण एसियाकै दोस्रो ऐतिहासिक रथयात्रा मान्ने गरिन्छ । रथयात्राको अवलोकन गर्न नेपालका विभिन्न जिल्ला र छिमेकी मुलुक भारतबाट समेत भक्तजन आउने गरेका छन् ।
रथयात्रालाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
डीएसपी श्रेष्ठले रथयात्रामा बढी भीडभाड हुने भएकाले सुनचाँदीका गरगहना नलगाउन र बहुमूल्य वस्तुको प्रयोग नगर्न सबैमा आह्वान गरेका छन् ।


















