विराटनगर । विराटनगरमा राधाकृष्ण रथयात्राका क्रममा ५९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शंकास्पद गतिविधिमा संलग्नलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए । पक्राउ परेका अधिकांश ३० वर्षसम्मको उमेर समूहका छन् ।
एसपी कोइरालाका अनुसार मादक पदार्थ सेवन गरेर होहल्ला एवं हुलहुज्जत गर्ने, झैझगडा र मोबाइल तथा सिक्री चोरीमा संलग्नलाई नियन्त्रणमा लिइएको हो। पक्राउ गरिएकामध्ये केहीको साथबाट चोरिएका सुनका सिक्री र मोबाइलसमेत फेला परेको छ ।
रथयात्राका क्रममा सिक्री र मोबाइल चोरीको उजुरी प्रहरीमा परेको छ। रथयात्रामा नेपालसहित भारतबाट समेत रथयात्रामा सहभागी हुन भक्तजन आएका थिए। रथयात्रालाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।


















