काठमाडौं । शुक्रबार रातिदेखिको अविरल वर्षा र बाढीपहिरोका कारण बेपत्ता भएका महाकाली नगरपालिकाका दश जना अझै भेटिएका छैनन् । महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठूलो मात्रामा जनधनको क्षति भएको छ। 

जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीपहिरामा परेर अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ भने दश जना बेपत्ता छन् ।  

महाकाली–३ का धनसिंह कार्की, दिपक कार्की, दिनेश कार्की, महाकाली–४ का सरस्वती लुहार, मोहन लुहार, महाकाली–२ का मानमति शाहु, महाकाली–१ का मञ्जु लुहार, दिनेश लुहार, साजन लुहार र दलजीत लुहार बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगत गाहामगरले बताए। 

महाकाली नदीमा पानीको बहाव नघट्दा बेपत्ताको खोजीमा समस्या भइरहेको छ । उनीहरुलाई महाकाली नदी किनार नजिकका प्रहरी युनिट परिचालन गरेर खोजी भइरहेको छ । 

राहत र उद्धारको काम सँगसँगै अघि बढाइएको छ । अहिलेलाई पीडितलाई त्रिपाल दिइएको छ । अस्थायी बसोबासको प्रबन्ध भइरहेको छ । अधिकांशले आफन्तको घरमा तथा जिल्ला समन्वय समितिको हलमा आश्रय लिइरहेका छन्।