इटहरी । सहकारी टाट पल्टेको बजार हल्ला निराधार रहेको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाले जनाएको छ ।  शनिबार विज्ञप्ति जारी गर्दै सहकारीले तरलता अभावका कारण केही समस्या भए पनि सहकारी बन्द हुने वा टाट पल्टिने कुनै सम्भावना नरहेको जनाएको हो ।

आफ्नो सहकारीको आर्थिक सूचकहरू राम्रो रहेको र टाट पल्टेको र सञ्चालक समिति भागेको भन्ने हल्ला निराधार रहेको सहकारीले स्पष्ट पारेको छ । पछिल्लो समय नेपालमा देखा परेको वित्तीय सङ्कटका कारण सहकारीलाई प्रभाव परे पनि ठुलो समस्या नरहेको जनाएको छ ।

संस्थाका अध्यक्ष फडिन्द्र मगरद्वारा जारी विज्ञप्तिमा आर्थिक मन्दी तथा तरलता अभावका कारण उद्योग व्यवसायदेखि सर्वसाधारणको जनजीवन र सरकारी आम्दानीमै प्रभाव परिरहेको जनाउँदै देशैभरका सहकारीहरू त्यसबाट प्रभावित रहेको र अम्बेमा पनि केही प्रभाव परेको जनाइएको छ । 

बचतकर्ताहरूले एकै पटक निक्षेप फिर्ता मागेपछि केही समस्या उत्पन्न भएको जनाउँदै निक्षेप संकलन कम हुनु, ऋणीहरूले ऋण फिर्ता गर्न नसक्नु, भाका लम्ब्याउँदै जानुले गर्दा तरलता अभाव भएको जनाएको छ ।

व्यवसायीक कामसँगै सामाजिक रुपमा समेत आफूहरू जिम्मेवार रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘हामी सहकारी सञ्चालकहरू पनि सहकारीमै छौँ । हाम्रो कार्यालय सार्वजनिक बिदाको समयभन्दा बाहेक खुलिरहेकै छ । आफ्ना नियमित कामहरू भइरहेकै छन् । हामी यहीँ छौँ र यहीँ रहनेछौँ । त्यसैले बचतकर्ताहरूलाई चिन्ता नगर्न र निराधार हल्लाहरूको पछि नलाग्न आग्रह गर्दछौँ ।’

धेरै बचतकर्ताहरूलाई संस्थाको अवस्थाको बारेमा जानकारी गराइसकेको जनाउँदै सहकारीलाई आगामी दिनमा अझ धेरै व्यवस्थित गर्दै र सेवा केन्द्रहरु थप गर्दै लाने उल्लेख गरिएको छ ।

सहकारीको निक्षेप संकलन ४५ करोड रुपैयाँ र ऋण लगानी ५४ करोड रुपैयाँ रहेको जनाइएको छ । शेयर पुँजी ५ करोड रुपैयाँ रहेको सहकारीले गत आर्थिक वर्ष २०७८र७९ मा ६० लाख रुपैयाँ खुद नाफा गरेको विज्ञप्तिमा उल्लेख छ । विराटनगर, विराट चोक र दमकमा समेत सेवा केन्द्र सञ्चालन गरिरहेको संस्थाका शेयर सदस्यहरू पाँच हजार ३०० भन्दा धेरै छन् ।


sambad


sambad1