हेटौँडा । मकवानपुर प्रहरीले सुनसहित एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौंबाट आएको प्रदेश २–०३–००१ ख ०१५९ नम्बरको यात्रुवाहक बसमा सवार वीरगञ्ज महानगरपालिका –१६ का २२ वर्षीय किशन साहलाई प्रहरीले आज (बुधबार) बिहान रातोमाटे चेकपोष्टबाट सुनसहित पक्राउ गरेको हो ।
साहलाई शङ्का लागि शरीर तथा झोला खानतलासी गर्दा निजले लगाएको जुत्ताको नोकभित्र तीन थान सुन फेला परेको थियो । साहलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर परिसरमा सार्वजनिक गरिएको छ ।
मकवानपुरका प्रहरीले साहको साथबाट सुन जस्तो देखिने पहेँलो धातु ५६१।३० ग्राम फेला परेको जनाएको छ । ५४ लाख ४८ हजार ५४२ रुपियाँ मूल्य बराबरको सुनसहित पक्राउ परेका साहमाथि प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।


















