काठमाडौं । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’का संवाद लेखक मनोज मुन्तशिरले नेपाल सन् १९०४ (वि.सं. १९६१) सम्म भारतकै हिस्सा रहेको कुतर्क गरेका छन्।

फिल्मको विवादित संवादबारे भारतीय टेलिभिजन च्यानलसँग कुरा गर्दै संवाद लेखक मुन्तशिरले नेपाल १९०४ सम्म भारतकै हिस्सा भएको बताएका हुन्।

उनले नेपालमा विरोध गरिएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादको विषयमा प्रश्न उठेपछि यस्तो अभिव्यक्ति दिएका हुन्।

फिल्मको कथा देखाइएको समयमा नेपाल भारतकै हिस्सा भएको बताउँदै उनले नेपाल र भारतलाई आफूले अलग नमान्ने बताए।

‘यदि नेपालीहरूलाई कुनै आपत्ति छ भने मसँग कुरा गरेको खण्डमा म उनीहरूलाई सम्झाउन सक्छु। देश र भौगोलिक रूपमा नेपाल अलग भए पनि राष्ट्रको हिसाबमा भारत र नेपाल आज पनि फरक छैनन्। राष्ट्रको हिसाबले यस्तो छ कि भारतीय राष्ट्रियताको स्वर नेपालसम्म सुनिन्छ।’

फिल्ममा भएको ‘सीता भारतीय छोरी’ भन्ने संवादका कारण नेपालको सेन्सर बोर्डले फिल्मलाई प्रदर्शन अनुमति दिन रोकेको थियो। तर पछि उक्त संवाद मौन अर्थात् म्युट गरिएपछि सेन्सर बोर्डले प्रदर्शनको लागि प्रमाणपत्र दिएको हो।