विराटनगर । २० तोला सुन र ३६ तोला चाँदी चोरेको आरोपमा पक्राउ परेका अभियुक्तिहरू पुर्पक्षका लागि कारागार चलान भएका छन्। मोरङ अदालतले बुधबार २० तोला सुन र ३६ केजी चाँदी चोरी आरोपमा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको हो।
अदालतको आदेशबाट पक्राउ परेका विराटनगर–१२ का २१ बर्से राजकुमार कामत, सोही ठाउँका १९ बर्से विवेक कामत र २२ बर्से श्रीकान्त दास कारागार चलान भएको मोरङ जिल्ला अदालतले जनाएको छ।
३ जेठमा विराटनगर –३ पिपल चोकस्थित जयकिशोर चौधरीको घरबाट २० तोला सुन र ३६ केजी चाँदी गरी जम्मा ६१ लाख बराबरको सुन चाँदीका गरगहना चोरी गरेको आरोपमा उनीहरू पक्राउ परेका थिए।
११ जेठमा विराटनगर–३ बाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो। प्रहरीले उनीहरूको साथबाट चोरीको चाँदीको गरगहना ३५ केजी र सुन ८ ग्रामसहित पक्राउ गरी डाका चोरी मुद्दामा अनुसन्धान गरेको थियो।
अनुसन्धान पूरा गरेपछि मङ्गलबार मोरङ जिल्ला अदालतमा अभियोग पेस भएको थियो।


















