विराटनगर  । ‘जि क्याफे एण्ड बिस्त्रो’ का सञ्चालक र कर्मचारी मिलेर एक जना फ्रेस सञ्चालको हत्या गरेको आफन्तले आरोप लगाएका छन् । मोरङको धनपालथान गाउँपालिका–४ स्थित कर्सिया बजारमा चाँदनी फ्रेस हाउस सञ्चालन गर्दै आएका कासीद अन्सारीको पैसा माग्न गएको बेला हत्या गरेको आफन्तले आरोप लगाएका हुन्।

मृतकका भाइ मासिदले मासु दिएबापतको पैसा माग्न जाँदा दाजुलाई योजनाबद्ध रुपमा हत्या गरेको आरोप लगाएका हुन्। २० वर्षदेखि कर्सिया बजारमा फ्रेस हाउस सञ्चालन गर्दै आएका अन्सारीले विराटनगरमा १० वटा रेष्टुरेन्ट  तथा क्याफेहरुमा मासु सप्लाइ गर्दै आएका थिए ।

गएको ३ गते आइतबार बिहान मासु दिए बापत ४० हजार पैसा लिन उनी क्याफे पुगेका थिए  । सञ्चालकले नै पैसा लिन बोलाएको बताइएको छ । 

मृतकका दाइ रासिद अन्सारीले जिल्ला प्रहरी कार्यालय मोरङमा क्याफे सञ्चालक विराटनगर महानगरपालिका–८ मधुमाला निवासी गिरीश खतिवडा, क्याफेमा काम गर्ने जहादा गाउँपालिका–३ का करण राजवंशी र विराटनगर महानगरपालिका–१६ बस्ने अनुराग राउतको नाममा किटानीसहित कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका हुन्।

पैसा माग्न गएको बेलामा भित्र पसेको सिसिटिभीको फुटेज भए पनि भित्र दाजु घाइते भएको बेलामा सिसीटिभि बन्द रहेको मृतकका भाइ मासिदले बताए । दाजुको बाहिर गेटमा भएको सिसाको ढोकामा ठोकिएर देव्रे तिघ्रा काटिएको र घाइते भएपछि उपचारको लागि अस्पताल ल्याएको सञ्लाकले बताएको मृतकका भाइले उल्लेख गरे ।

क्याफे सञ्चालकले फोन नगरेको तथा अस्पताल जाँदा बोल्नसमेत नमानेको उनले बताए।  दाजु गम्भीर घाइते भएको जानकारी रानीबाट मासु लिन आएका अपरिचित मान्छेले फ्रेस हाउसमा काम गर्ने मिलन थापा मगरलाई फोन गरेर दिएका र  त्यसपछि अस्पताल गएको उनले बताए। 

दाजुको मोबाइलसमेत क्याफे सञ्चालकले नै राखेर सबै म्यासेजहरु डिलिट गरेको उनले आरोप लगाए। सुरुमा प्रहरीले जाहेरी लि नमानेको र अहिले जाहेरी लिएपछि पनि कसैलाई नियन्त्रणमा समेत नलिएको उनले बताए।

क्याफेका  सञ्चालक गिरिस खतिवडा हत्याकै दिन काठमाडौं गएको बताइएको छ । मोरङ प्रहरीका प्रवक्ता रञ्जनकुमार दहाले विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताए । तत्काल कर्तव्य भएको प्रमाण फेला नपरेकाले कसैलाई नियन्त्रणमा नलिएको उनले बताए ।

पोष्टमार्टमको रिपोर्ट आए पनि थप घटनाको कारणबाहिर आउने बताउँदै उनले अहिले प्रवृति हेर्दा अन्य शरीरको भागमा चोट नलालेको जानकारी दिए ।