विराटनगर । मोरङको रंगेली नगरपालिका–९ फर्साडाँगीमा टिपरको ठक्करबाट घाइते भएकी वृद्धाको मृत्यु भएको छ । मृत्यु हुर्नेमा रंगेली–९ की ७० वर्षीया मुन्सी राजवंशी रहेकी छिन् ।  

गिट्टी बोकेर भित्री सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ गइरहेको ना १ क ७२१८ नम्बरको टिपरले ठक्कर दिँदा  राजवंशी गम्भीर घाइते भएकी थिइन् ।  

मोरङ ट्राफिक प्रहरीका अनुसार   टिपरको ठक्करबाट  गम्भीर घाइते भएकी राजवंशीलाई  विराटनगरको न्युरो अस्पतालबाट थप उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको थियो । उपचारकै क्रममा बुधबार साँझ वृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाटो काट्दै गर्दा टिपरले वृद्धालाई ठक्कर दिएको हो । 

टिपर चालक सर्लाही लालबन्दीका अन्दाजी ३५ वर्षीय दिनेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । टिपरको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।