इटहरी । इटहरीमा उत्पादन हुने पानीको जारमा मरेको किरा र भातको सिता भेटिएको छ । हिमधारा कम्पनीको जारको पानीमा मरेको किरा र भातको सिता भेटिएको हो ।
धनकुटा नगरपालिकास्थित सञ्चयकोषको कार्यालयमा राखिएको जारको पानीमा किरा र भातको सिता फेला परेको छ । इटहरी–१० स्थित हिमधारा कम्पनीले उत्पादन गरेको उपहार नामक जारको पानीको ‘सिलप्याक’ भाँडोभित्र पखेटासहितको मरेको किरा र भातको सिता फेला परेको बताइएको छ ।
धनकुटाको हुलाकटोलस्थित सनोज किराना पसलबाट सञ्चयकोषका कर्मचारीले आइतबार खरिद गरी लगेको चार वटा जार मध्येको एउटा जारको पानीमा अखाद्य बस्तु फेला परेको हो ।
जसमध्ये एउटा सिलप्याक भाँडोभित्र प्रस्टै देखिनेगरी किरा र भातको सिता देखिएपछि कार्यालयका कर्मचारीहरू आश्चर्यमा परेका छन् । उपहार पानी उद्योगकै गाडीले गत शनिबार धनकुटाका विभिन्न पसलहरूमा बिक्रीका लागि मिनरल वाटर र जारको पानी दिएको थियो ।
सनोज किरानामा पनि सोही दिन सात वटा जार राखिएको थियो, जसमध्ये एउटा जारमा यस्तो अखाद्य पदार्थ फेला परेको हो । जारमा अखाद्य बस्तु फेला परेको जानकारी पाएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका प्रतिनिधिले सञ्चयकोषको कार्यालयमा पुगेर जार निरीक्षण गरेका छन् ।
जारको सिलप्याक भाँडोभित्र अखाद्य पदार्थ भएको पुष्टि भएकाले जार उत्पादक कम्पनीमाथि कारबाही प्रक्रिया अगाडि बढाइने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जनाएको छ ।


















