काठमाडौँ । रक गायक रोविन तामाङको केही दिन अगाडि निधन भयो । उनको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाउँदै हिजो (आईतबार) अन्तिम संस्कार गरिएको छ । नेपाली गीतसङ्गीत र अभिनयको क्षेत्रमा गायक तामाङले योगदान उल्लेखनीय मानिन्छ । यस्तैमा उनै तामाङको स्वर रहेको अन्तिम गीत ‘धुवाँ’ सार्वजनिक गरिएको छ ।

निर्देशक तथा सम्पादक निरञ्जन पाण्डेले यो गीत फिल्मका लागि तयार पारेका थिए । तर, रोविन तामाङको असामयिक निधन भएपछि उनलाई नै अन्तिम श्रद्धाञ्जली दिँदै यो गीत सार्वजनिक गरिएको हो ।

गीतले जिन्दगीलाई धुवाँमा नउडाउन सन्देश दिएको छ । गीतमा रोविनलाई गायक राजेश पायल राईले पनि स्वरमा साथ दिएका छन् ।सुरेश राईको शब्द तथा सङ्गीत रहेको गीतमा राजेश र रोविनलाई नै फिचर गरिएको छ । गीतको र्‍यापको शब्द भने रोविनले नै लेखेका छन् । सोनाम तामाङको छायाङ्कनमा तयार भएको यो भिडियोलाई निरञ्जन पाण्डेले सम्पादन गरेका हुन् ।